इलाम । हरेक निर्वाचनमा इलामलाई विशेष महत््वका साथ हेरिँदै आएको छ । इलामबाटै सुवासचन्द्र नेम्वाङ २ पटक सभामुख र झलनाथ खनाल प्रधानमन्त्री हुने मौका पाए ।
झलनाथ खनाल इलाम क्षेत्र नं. २ मा पर्ने इलाम–१ साखेजुङका हुन् भने नगर–७ सुन्तलाबारीका नेम्वाङ । खनाल २०४८ सालदेखि इलाम क्षेत्र नं १ बाट चुनाव लड्छन् ।
२०५६ सालदेखि संघीय निर्वाचनमा सहभागी नेम्वाङ अपराजित नेता हुन् । सूर्य चिह्नबाट विजयी हुँदै आएका २ हेभिवेटको नियति योपटक फेरिएको छ । नेम्वाङ सूर्य चिह्नबाटै चुनावी मैदानमा होमिदा खनाल भने कलम चिह्नका उम्मेदवार हुन्। एउटै मोर्चामा हिँडेका उनीहरू हाल प्रतिस्पर्धी दलबाट उम्मेदवार छन् ।
सदाझैँ निर्वाचन मनोनयनका लागि गृहजिल्लामा रहँदा सुवास नेम्वाङ योपटक पनि माङसेवुङमा रहेको किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको आश्रममा पुगे । गुरुको आशीर्वाद थाप्दै उनी चुनाव केन्द्रित गतिविधिमा सक्रिय छन् ।
इलामको निर्वाचन क्षेत्र नं २ को परिणाममा गुरुको आशीर्वादले अर्थ राख्ने विश्वास गरिन्छ । यो वर्ष मनोनयनको अघिल्लो दिन गुरु निजी आश्रम लारुम्बा पुगेर नेम्वाङले किरात धर्मगुरु गुरुआमा बसेको ठाउँ, पोक बसेको ठाउँ र किरातको पवित्र केन्द्र माङसेबुङ रहेको भन्दै फकाउन समेत भ्याए ।
एमालेबाट प्रदेशसभाका लागि इलाम क्षेत्र नं २ को (क) का उम्मेदवार गणेश बराल र क्षेत्र २ (ख) का उम्मेदवार प्रदेश १ का पूर्व भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री राम रानालाई साथ लिएर नेम्वाङ लारुम्बा पुगे । एमाले उम्मेदवारले माङगेन्ना शिर उठाए । माङगेन्ना गरे शिर उचो हुने र शिर नढल्ने धार्मिक विश्वास छ ।
सधैँका झैँ नेम्वाङले गुरुसामु महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा र धर्म निरपेक्ष घोषणा गर्न एमालेको ठूलो भूमिका रहेको चर्चा गरे ।
अघिल्लो निर्वाचनमा सहजै विजयी नेम्वाङलाई योपटक केही सकस देखिन्छ । वाम लोकतान्त्रिक गठबन्धनको भन्दा कम मत भएका कारण नेम्वाङको जित्ने आधार भनेको गुरुको आशीर्वाद र लिम्बु जातिको मत नै हो । नेम्वाङ गुरु अनुयायीहरूको मतका कारण यसअघिका निर्वाचनमा सहजै विजयी भएका थिए ।
योपटक पनि गुरुकृपा रहनेमा उनी ढुक्क छन् तर नेम्वाङका लागि यो चुनाव चुनौतीपूर्ण देखिन्छ । एकातिर गठबन्धनको भार र स्थानीय चुनावमा टिकट वितरणमा भेदभाव भएको भन्दै पार्टीभित्रै असन्तुष्टि बढेको छ । २३ वर्षसम्म इलाम–२ बाट जित्दै आए पनि विकास निर्माणको काम नगरेको भन्दै मतदातामा असन्तुष्टि छ ।
विशेषगरी राँके–रवि सडक नबनेकामा स्थानीय बासिन्दा असन्तुष्ट छन् । यो सडक केही समयअघि एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गरेका थिए । यो सडक इलामका ठूला ‘प्रोजेक्ट’मध्येको यो एक हो। उक्त सडक खण्ड धनकुटा, इलाम र पाँचथरको सिमानामा पनि पर्छ तर काम पूरा भएको छैन। अहिले बाटोको स्थिति झन् खराब छ । यसलाई लिएर मतदातामा असन्तुष्टि बढेको हो । गत असोज ११ गते इलाममा अगुवा कार्यकर्ता भेलामा नेम्वाङले गुनासो गरेका थिए । आफू २०५६ सालमा निर्वाचन लड्दा इलामको २ नम्बर क्षेत्रमा एउटा बिजुलीको बल्ब नभएको र अहिले साथीभाइले हिलोमा गाडी भासिएको फोटो छाप्ने गरेको उनको भनाइ थियो ।
नेम्वाङविरुद्ध योपटक नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्का मुख्य प्रतिस्पर्धी छन् । प्रधानमन्त्री निकट मानिएका खड्का गठबन्धनको बलमा योपटक नेम्वाङको २३ वर्षे एकात्मक शासन अन्त्य गर्दै युवा नेतृत्व स्थापित गर्ने ध्येयमा छन ।
अघिल्लो पटक प्रदेशसभामा राम रानासँग हारेका खड्का योपटक एमालेका हेभिवेट नेतालाई हराउँदै आफूलाई प्रमाणित गर्ने अवसरमा छन् । नेम्वाङको क्षेत्रमा योपटक एमाले फुटेका कारण आफूले जित्ने खड्काको दाबी छ । गत स्थानीय निर्वाचनको मत हेर्दा एमालेको पकड मानिएको यो क्षेत्रमा गठबन्धन बलियो देखिन्छ । स्थानीय निर्वाचनमा सीमित वडा बाहेक दलहरू एक्लाएक्लै निर्वाचनमा होमिएका थिए ।
वडागत तर्फ कांग्रेसले ३२ हजार ९७८, एमाले ३२ हजार ५२७, माओवादीले २ हजार १०७, जसपाले ५५४, नेकपा (एकीकृत समाजवादी)ले २७७ र राप्रपाको १३० मत ल्याएको देखिन्छ । त्यस क्षेत्रमा ४२ वडामध्ये कांग्रेसले २२ र नेकपा एमालेले १७ वटा वडा जितेका छन् । त्यसैगरी माओवादी केन्द्र, राष्ट्रिय जनमुक्ति र लिम्बुवानले समान १÷१ वडा जितेका थिए ।
माईखोलाले छुट्याएको इलाम क्षेत्र नं २ मा इलाम र देउमाई नगर छन् । त्यसैगरी माङ्सेबुङ, चुलाचुली र फाकफोकथुम गाउँपालिका साथै माई का ३ वटा वडा (साविक महमाई गाविस) समेत यसै क्षेत्रमा छ ।