सत्ता गठबन्धन दलको निर्वाचन परिचालनको जिम्मा मेयर कोइरालालाई

विराटनगर । मोरङमा सत्ता गठबन्धन दलहरुको निर्वाचन परिचालनको जिम्मेवारी विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्राप्त गरेका छन् ।

सत्ता गठबन्धनमा आवद्ध मोरङका दलहरुको बैठकले काँग्रेस मोरङका कार्यवहाक सभापतिसमेत रहेका कोइरालालाई निर्वाचन परिचालन सचिवालयको संयोजक बनाउने निर्णय गरेको हो । निर्वाचन परिचालन समितिमा १७ सदस्य रहने छन् । बैठकले गठबन्धनको आधिकारिक उम्मेदवारलाई बिजय गराउन सबै दलले संयुक्त पहल गर्ने निर्णय गरेको छ ।

नेपाली काँग्रेस मोरङका सभापति तथा क्षेत्र नम्बर १ बाट गठबन्धनका साझा उम्मेदवार डिगबहादुर लिम्बूको अध्यक्षतामा बसेको बैठकले संयुक्त लोकतान्त्रिक गठबन्धनका दलहरुबीच सुमधुर सम्बन्ध कायम गर्दै निर्वाचन लक्षित कार्यक्रम प्रभावकारी ढंगबाट सञ्चालन गर्ने र आधिकारिक उम्मेदवारहरुलार्य विजय गराउन निर्वाचन क्षेत्र, पालिका र वडा तहसम्म संयुक्त निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ । निर्वाचन परिचालन समिति गठन गर्दा प्रतिनिधि सभाको उम्मेदवार रहेको दलको प्रतिनिधि संयोजक रहने निर्णय पनि गरेको छ ।

बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीको निर्णय र गठबन्धनको भावना विपरित उम्मेदवारी दर्ता गराएका पार्टीका कार्यकर्ताहरुलाई उम्मेदवारी फिर्ता गराउन हदैसम्मको पहल गर्ने र निर्वाचन आयोगको कार्यतालिकाको समयावधिभित्रै नाम फिर्ता लिन लगाउने निर्णय गरेको छ ।

स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी फिर्ता गर्न नमानेमा पार्टीको साधारण सदस्यबाट निलम्बन गरी सम्बन्धित पार्टीको केन्द्रीय समितिमा सिफारिस गर्ने तथा संचार माध्यमबाट सार्वजनिक गर्ने निर्णय गठबन्धनको बैठकले गरेको छ ।

बैठकले निर्वाचन परिचालन सचिवालयको कार्यालय नेपाली काँग्रेस मोरङको कार्यालयलाई बनाउने निर्णय पनि गरेको छ ।

मङ्गलबार, २५ असोज, २०७९, बिहानको ०८:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर