विराटनगर । आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कतिपयले आफ्नो दलबाट टिकट पाएनन् भने केही स्वेच्छाले टिकट लिएन्न ।
निर्वाचनका लागि आइतबार प्रतिनिधि सभाका १६५ र प्रदेश सभामा ३३० निर्वाचन क्षेत्रका लागि सयौंले उम्मेदवारी दिएका छन्। त्यसमा कतिपय चर्चित अनुहार देखिएन।
नेपाली कांग्रेसबाट केबी गुरुङ, रामशरण महत, मीनेन्द्र रिजाल, सुनीलकुमार भण्डारी, उमा रेग्मी, मीना पाण्डे, सीतादेवी यादव, महेश आचार्य, लक्ष्मण घिमिरे, विनयध्वज चन्द, अमरेशकुमार सिंह, मानबहादुर विश्वकर्मा, शेषनाथ अधिकारी, हरि नेपाल, अर्जुन खड्का, हरिनाथ बास्तोला लगायत उम्मेदवारका रूपमा देखिएनन्।
यसै गरी नेकपा (एमाले) नेता भीम रावल, उपाध्यक्ष रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव विष्णु रिमाल, सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहरा, स्थायी कमिटी सदस्य राधा ज्ञवाली, विन्दा पाण्डे, थममाया थापा, शिवमाया तुम्बाहाङ्फे, सीताकुमारी पौडेल लगायत पनि उम्मेदवार भएका छैनन्।
यस्तै‚ नेकपा (माओवादी केन्द्र)बाट अग्निप्रसाद सापकोटा, कृष्णबहादुर महरा, हरिबोल गजुरेल, त्रिलोचन भट्ट र कुलप्रसाद केसी लगायतको पनि उम्मेदवारी देखिएन। नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पनि यस निर्वाचनमा उम्मेदवार बनेनन्।
निर्वाचन आयोगका अनुसार‚ आइतबार भएको मनोनयनपत्र दर्ता प्रक्रियामा प्रतिनिधि सभातर्फ दुई हजार ५०२ जनाले मनोनयन दर्ता गरेका छन्। जसमध्ये पुरुष दुई हजार २६९ र महिला २३३ जना छन्। यस्तै‚ प्रदेश सभातर्फ तीन हजार ४३६ जनाले मनोनयन दर्ता गरेका छन्। जसमध्ये पुरुष तीन हजार १३९‚ महिला २९६ र अन्य एक जना छन्।