विराटनगर । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले संविधानलाई ट्र्याकमा ल्याउन गठबन्धन गरिएको बताएका छन् ।
नेपाली काँग्रेसभित्र गठबन्धनविरोधी नेताका रुपमा चिनिएका डा. कोइरालाले गठबन्धनबाटै मोरङ ६ को प्रतिनिधिसभामा उम्मेदवारी दर्तापछि गठबन्धनको आवश्यकता रहेको बताएका हुन् ।
कोइरालाले गठबन्धनकै कारण कतिपय नेता तथा कार्यकर्ता टिकटबाट बञ्चित भएको भएपनि त्यसलाई स्वभाविक रुपमा लिनुपर्ने बताए । ‘अहिले हामीले गठबन्धन किन गर्नुपर्यो भने, संविधान ट्र्याकबाट बाहिर गएको थियो । फेरि संविधान ट्र्याकमा ल्याउनका लागि हामीले गठबन्धन गरेको हो’ उनले भने, ‘गठबन्धन गर्दा हामीले भनेका सबै कुरा पुरा हुँदैन । टिकट पनि त्यसरी वितरण हुँदैन । यसलाई सहज रुपमालिनु पर्छ ।’
काँग्रेसले १०० सिट लिनुपर्ने पूर्वअडानबारे सोधिएको प्रश्नमा कोइरालाले भने, ‘सबै कुरा भनेको हुँदैन, गठबन्धन भएपछि त झन् हुने कुरा थिएन, हामीले बढी सिट लिन प्रयास गरेका हौं ।’ उनले आफू संघीय संसदको निर्वाचनमा गठबन्धनको विरोधी नभएको पनि जिकिर गरेका छन् । स्थानीय तहको निर्वाचनमा भने गठबन्धनको विरोध गरेको उनको भनाइ थियो ।
गठबन्धनको नेतृत्व काँग्रेसले गरिराखेकोले निर्वाचनपछि पनि काँग्रेसकै नेतृत्वमा सरकार बन्ने कोइरालाले दावी गरे । यद्यपि प्रधानमन्त्रीको हुन्छ भन्ने विषय अहिले नै भन्न नसकिने उनको भनाइ थियो ।
कोइरालाले मोरङको क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वारी दिँदा उनीसँग एमालेबाट लालबाबु पण्डितले प्रतिस्पर्धा गर्ने भएका छन् । अघिल्लो निर्वाचनमा कोइराला उनै पण्डितसँग पराजित भएका थिए ।