मोरङका एमाले नेता अधिकारीद्धारा पार्टी परित्याग

विराटनगर । टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेकपा एमाले प्रदेश १ समितिका सचिवालय सदस्य तथा मोरङका पुराना नेता डिल्लीराम अधिकारीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

एमालेको स्थानीय समितिले मोरङ क्षेत्र नम्बर १ (२) बाट अधिकारीलाई प्रदेशसभा सदस्यको उम्मेदवार सिफारिस गरेको भएपनि सो क्षेत्रबाट एमालेले खड्ग बस्नेतलाई उम्मेदवार बनाएपछि अधिकारीले पार्टी परित्याग गरेका हुन् ।

अधिकारीले पार्टीका केही व्यक्तिको व्यक्तिगत स्वार्थका कारण टिकट पूर्वाग्रही ढङ्गले वितरण गरिएकोप्रति घोर आपत्ति र असहमति जाहेर गर्दै राजीनामा दिएका हुन् । उनले टिकट वितरण पक्षपातपूर्ण, प्रलोभन र गुटगत राजनीतिबाट अघि बढेको भन्दै पार्टीको प्रदेश समिति सचिवालय सदस्यबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

‘सम्पूर्ण जीवन पार्टीको नीति, विधि र पद्धतिमा रही आएकोमा गुटगत र व्यक्तिवाद राजनीतिको कारण आफ्नो स्वाभिमानलाई बन्धक बनाई पार्टीमा रही जिम्मेवारी बहन गर्न नसक्ने ठहर गर्दै यति लामो पार्टी जीवन यात्रा गह्रुँगो छाती बनाई पार्टी जिम्मेवारीबाट अलग हुने र स्वतन्त्र जीवन जिउने निर्णय गर्दै राजीनामा पेस गर्दछु,’ अधिकारीले एमाले प्रदेश अध्यक्षलाई दिएको राजीनामा पत्रमा उल्लेख छ ।

यसैबीच केराबारी गाउँपालिका वडा नम्बर २ निवासी अधिकारीलाई पार्टीले टिकट नदिएपछि सोही वडाका १९ जना वडा सदस्यहरुले समेत पार्टीको संगठनबाट राजिनामा दिएका छन् । अधिकारी पूर्वगाविस अध्यक्ष हुन् ।

आइतबार, २३ असोज, २०७९, बिहानको ११:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर