किरण पाउरोटीमा ढुसी, नियमकारी निकाय मौन

विराटनगर । विराटनगर – ११ मा रहेको किरण क्यालसिक बेकरीले उत्पादन गरेको पाउरोटीमा ढुसी फेला परेको छ । म्याद सकिने मिति दुई दिन बाँकी रहेको पाउरोटीमा ढुसी परेको भेटिएको हो ।

विराटनगर – ५ चाँदनी चोकको एउटा पसलमा सुरज राजभण्डारीले पाउरोटी ५० रुपैयाँमा खरिद गरेर लगेका थिए । ‘अरू पाउरोटी नभेटेपछि किरणको पाउरोटी किनेर लगेको थिए । घरमा लगेर खोल्दा ढुसी परेको थियो,’ उनले भने, ‘यसअघि पनि चार पटक किरणले उत्पादन गरेको पाउरोटीमा ढुसी फेला परेको थियो ।’

भण्डारीले शनिवार बिहान पाउरोटी किनेका थिए । ‘पसलले फ्रेस पाउरोटी हो । शुक्रवार मात्र ल्याएको भनेपछि किनेर लगेको थिए,’ उनले भने, ‘खोलेर खाना लाग्दा पाउरोटीमा ढुसी फेला परेको छ ।’

ढुसी परेको पाउरोटीको २७ सेप्टेम्बरमा उत्पादन भएको मिति उल्लेख रहेको छ । २ अक्टोबरसम्म म्याद सकिने मिति रहेको छ ।
यसरी उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्दै यस्तो ढुसी परेको पाउरोटी बिक्री वितरण गर्ने उद्योगलाई सम्बन्धित निकायले अनुगमन गरी कारवाहीको दायरामा ल्याउनुपर्ने उनले माग राखेका छन् ।

चाडपर्व लागेसँगै विराटनगर महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । तर, उपभोक्तासँग प्रत्यक्ष जोडिएको बेकरी खाद्यवस्तु उत्पादन गर्ने उद्योगको अनुगमन नगर्दा गुणस्तर हीन खाद्यवस्तु खान बाध्य भएका छन् ।

शनिबार, १५ असोज, २०७९, बिहानको ०९:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर