कर्मचारी नियुक्ति नगरेको रिसले लामखुट्टे नियन्त्रणमा असहयोग

विराटनगर । लामखुट्टेका कारण डेंगुको संक्रमण बढ्न थालेपछि विराटनगर महानगरपालिकाले नगरभरि लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने अभियान सञ्चालन गरेको छ ।

महानगरपालिकाले नगरका सबै वडामा विषादी छर्ने योजना बनाएको भएपनि एउटा वडाले महानगरको योजना कार्यान्वयनमा असहयोग गर्दा लामखुट्टे नियन्त्रण गर्ने योजनामा बाधा पुगेको छ ।

विराटनगर १३ नम्बर वडाले लामखुट्टे नियन्त्रण गर्ने महानगरको प्रयासमा बाधा पु¥याएको हो । वडाध्यक्ष सूर्यलाल यादवले वडामा औषधि छर्न नदिएको महानगर स्रोतले जनाएको छ ।

गर्मी र धेरै ठाउँमा पानी जम्ने भएकोले भदौ असोजमा विराटनगरमा लामखुट्टेको प्रकोप बढी हुन्छ । त्यसमा पनि काठमाण्डौमा डेंगुको प्रकोप बढेको छ । दसैंमा काठमाण्डौबाट मानिसहरु धेरै घर फर्किने र कतिपय संक्रमितहरुपनि आउनसक्ने तर्फ ध्यान दिँदै महानगरपालिकाले केही दिन यता लामखुट्टे नियन्त्रण गर्न ‘विषादीयुक्त धूँवा’ छर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । तर, विराटनगर १३ को कुनैपनि ठाउँमा लामखुट्टे नियन्त्रणका लागि विषादी छर्न दिइएको छैन । वडाध्यक्ष स्वयंले नियन्त्रण कार्यमा अवरोध गरिरहेको बताइएको छ । विराटनगर १३ लामखुट्टेको प्रकोप बढी भएको वडामध्येमै पर्छ ।

नाम नबताउने सर्तमा महानगरका एक जना कर्मचारीले भने ‘वडाध्यक्षले राखेको प्रस्ताव महानगरले अस्वीकार गरेकै कारणले उहाँले लामखुट्टे नियन्त्रणसँगै डेंगु रोकथामको काममा बाधा गर्नुभएको छ, यो जनताको सुरक्षाका हिसाबले गलत कार्य हो ।’

वडाध्यक्षले तीन जना कर्मचारी नियुक्त गर्न महानगरमा केही समय अघि प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा प्रमुख नागेश कोइराला र प्रमुख प्रशासकीय अधिकृत दुवै असहमत भएपछि उनको प्रस्ताव रोकिएको थियो । कर्मचारी राख्ने प्रस्तावमा महानगरबाट सहयोग नभएपछि रिसाएका वडाध्यक्ष यादवले वडामा लामखुट्टे नियन्त्रण गर्ने योजनामा असहयोग गरेको महानगरको बुझाइ छ ।

लामखुट्टे नियन्त्रण गर्ने महानगरको अभियानमा असहयोग गरेको विषयमा जानकारी लिन पटक पटक वडाध्यक्ष यादवको मोवाइलमा सम्पर्क गर्दा सम्पर्क स्थापित हुन सकेन । यद्यपि स्थानीयले वडामा लामखुट्टे नियन्त्रणका लागि महानगरबाट कुनै प्रयत्न नभएको प्रतिक्रिया दिएका छन् ।

शुक्रबार, १४ असोज, २०७९, साँझको ०७:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर