विराटनगर । निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य नेता राजेन्द्र राईले पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान लिने धम्की दिएको अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचन भइरहेको छ । पौडेलले आफू असुरक्षित भएका भन्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।अडियो सार्वजनिक भएपछि पाख्रीबास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङले प्रतिनिधि सभा सदस्यजस्तो पदमा पुगेका व्यक्तिले कर्मचारीमाथि गाली–गलौज गर्नु लज्जास्पद भएको बताएका छन् । ‘उहाँले चित नबुझे मसँग कुरा गर्दा हुन्थ्यो’, उनले भने ‘गल्ती भएको भए प्रमाण ल्याए कानूनी उपचार गर्ने पाटा पनि छन् ।’
माननीय भइसकेका नेताले कर्मचारीमा माथि आइलागेर उनले कस्तो बहादुरी देखाउन खोजेको आफूले बुझ्न नसकेको मेयर गुरुङले बताए । उनले उपमेयरसहित एमालेका कार्यकर्ताले पेट्रोल(तेल) नपाएपछि माननीयलाई प्रयोग गरेको आरोप लगाएका छन् । मेयर कांग्रेसका हुन् भने उपमेयर नम्रता गौतम एमालेकी हुन् ।
‘दुरुपयोग भएपछि एकद्वार प्रणालीबाट मात्रै पेट्रोल वितरण गर्ने गरी सल्लाह भयो । पहिला मेयर, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत तथा जिन्सी शाखाबाट पनि तेलको कुपन वितरण हुँदो रहेछ । नगरपालिकाको काममा भन्दा अन्यत्र नै पेट्रोल खपत हुँदो रहेछ । दुरुपयोग भएपछि मेरै हस्ताक्षर चल्ने गरी तेल वितरण गर्न थालियो । मैले एम्बुलेन्स बनाउन दिएको छु । मैले तेलको दुरुपयोग गर्नु छैन । उपमेयरले कार्यपालिका बैठकमै विरोध जनाउनुभयो । पछि मलाई थर्काउने उद्देश्यले प्रमुख प्रशासकीय अधिकृतलाई हप्काएको हुनुपर्छ । हात्ती धपाउन नाङ्लो ठटाएर हात्ती तर्साउन खोज्नु भएको होला’, उनले भने ।
मेयर गुरुङले प्रमुख प्रशासकीय अधिकृत पौडेललाई सरुवा गरेर देखाउन समेत राईलाई चुनौती दिएका छन् ।
यता नेता राईले भने प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचारमा लिप्त भएकाले सरुवा भएर जान भनेको बताए । ‘म पनि धनकुटाको जनताको जनप्रतिनिधि हो जनताले कर्मचारीले पैसा मागेर दुःख दिएको भनेपछि मैले हात बाँधेर बस्ने कुरा आएन’, उनले भने, ‘पैसा नमागेको त कुनै पनि योजना छैन भनेर पटक–पटक गुनासो आएपछि जान भनेको हो ।’ उनले अब सरुवा भएर नगए चाहिँ टाउको फुटाउने चेतावनी दिए ।