कृषि यन्त्रहरू प्रदर्शनी

कृषि यन्त्रहरू प्रदर्शनी

विराटनगर । किसानहरूको जीवनस्तर सुधार गर्ने र आत्मनिर्भर कृषि अर्थतन्त्रलाई टेवा दिने अभियानका साथ अघि बढेको जीवन विकास समाजको मुनाफारहित कस्टम हाई रिङ सेन्टरको आयोजनामा रंगेलीमा कृषि यन्त्र प्रदर्शनी गरिएको छ ।

आइतबार रंगेलीको काली मन्दिर अगाडि कृषि यन्त्रहरू सहित प्रदर्शनी गरिएको हो । आधुनिक तरिकाले खेती गर्दा किसानको समय र पैसा दुवै बचत हुने भएकाले संस्थाले कस्टम हाईरिङ सेन्टर सञ्चालनमा ल्याएको हो ।

सो सेन्टरको जानकारी एवं किसानलाई लाभ पुग्ने गरी कार्यक्रम आयोजना गरिएको हो । प्रदर्शनीमा विभिन्न बिरुवाहरू किसानलाई निःशुल्क वितरण गरिएको छ ।

प्रदर्शनीमा धान रोप्ने मेसिन, मकै रोप्ने मेसिन, मकैको घोगा टिप्ने, धान गोड्ने, विषादी छर्ने, धान, मकै, गहुँ ,काट्ने र धान मकै र गहुँ सुकाउने मेसिनहरू प्रदर्शनीमा राखिएको थियो ।

प्रदेश १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा कस्टम हाय रिङ सेन्टरको स्थापना गरी सहुलियत दरमा मेसिनहरू भाडामा उपलब्ध गराउने कम्पनीका कार्यकारी अधिकृत रोहित भण्डारीले बताए । उनले किसानहरू आफैले लाखौँ रुपैयाँ खर्च गरेर मंहगो कृषि यन्त्रहरू किन्न सम्भव नहुनाले आफूहरूले मेसिन सञ्चालन ल्याएको बताए ।

सडक प्रदर्शनीमा रतुवामाई, सुनबर्षी र रंगेली नगरपालिकाका करिब आठ सय जनाको उपस्थिति रहेको थियो । सोही अवसरमा डिभिजन वन कार्यालय मोरङ र जीवन विकास समाजको सहकार्यमा विभिन्न प्रजातिका करिब ११ सय बिरुवा नि।शुल्क वितरण गरेको संस्थाले जानकारी दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्