लोड हुँदैछ...

मेनु

प्रदेश १ को पूँजीगत खर्चमा रेकर्ड: पूँजीगत ९० प्रतिशत र चालु ७९ प्रतिशत खर्च

प्रदेश १ को पूँजीगत खर्चमा रेकर्ड: पूँजीगत ९० प्रतिशत र चालु ७९ प्रतिशत खर्च

विराटनगर । प्रदेश १ सरकारले चालू आर्थिक वर्षको पूँजीगत खर्चमा ऐतिहासिक रेकर्ड कायम गरेको छ । असार २५ गतेसम्मको विवरण अनुसार प्रदेश सरकारले पूँजीगत खर्च ९० प्रतिशत गरेको छ ।

यसअघि प्रदेश १ सरकारको पूँजीगत खर्च बढीमा ६५ प्रतिशतमात्रै पुगेको थियो । तथ्यांकअनुसार पनि संघीय सरकारले ५० प्रतिशत पूँजीगत खर्च कटाउन सकेको छैन भने अन्य प्रदेशले पनि पूँजीगत खर्च उल्लेख्य गर्न सकेका छैनन् ।

प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले नेपालकै अहिलेसम्मको सबैभन्दा बढि पूँजीगत खर्च प्रदेश १ ले गरेको दाबी गरे । ‘खुसीको खबर ! प्रदेश १ को चालु वर्षको बजेट कार्यान्वयन पुरा हुँदैगर्दा असार २५ सम्मको जम्मा खर्च ३० अर्ब २८ करोड अर्थात् ८७.१३ प्रतिशत पुगेको छ,’ उनले भनेका छन्, ‘जसमा चालू ७९ प्रतिशत र पूँजीगत खर्च १६ अर्ब ८५ करोड अर्थात् ९० प्रतिशत रहेको छ भने स्थानीयतहको अनुदान ९८ प्रतिशत खर्च भएको छ ।’

यो प्रगति सम्भवतःबजेट इतिहासमै उत्कृष्ट रहेको सचिब दाहालको दाबी छ । ‘यो प्रगति सम्भवतः बजेट इतिहासकै उत्कृष्ट हो । अन्य प्रदेश र स्वयम् नेपाल सरकारको दाँजोमा उत्कृष्ट हो नै,’ उनले भनेका छन्, ‘मध्यरातसम्म खट्ने मेरो टीम र सबै सरोकारवाला धन्यवादका पात्र हुनुहुन्छ, आभार व्यक्त गर्दछु ।’

चालू आर्थिक वर्षमा प्रदेश सरकारले ३२ अर्ब ५४ करोड १३ लाखको बजेट ल्याएको थियो । संघीय सरकारले पुनः सशर्त अनुदानमा २ अर्ब ७ करोड २१ लाख बजेट थप गरेपछि प्रदेशको बजेटको आकार ३४ अर्ब ५४ करोड १३ लाख पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds