विराटनगर । स्थानीय चुनावमा गठबन्धन नगर्ने हठ देखाएको नेपाली काँग्रेस मोरङमा धमाधम कमजोर नतिजा आउँदा पछुतो प्रकट गर्न थालेको छ । ‘मोरङमा काँग्रेसले कसैसँग गठबन्धन गर्न जरुरी छैन, हामी एक्लै बलियो छौं’, काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले स्थानीय चुनावअघि भनेका थिए ‘त्यसैले जिल्लामा गठबन्धन नहुनसक्छ ।’
नेपाली काँग्रेसभित्र ‘चुनावमा गठबन्धन गर्नुहुँदैन, काँग्रेसले एक्लै चुनाव जित्छ’ भन्ने धारणा राख्ने डा.शेखर कोइरालाको गृहजिल्ला मोरङमा उनकै इशारामा अधिकांश स्थानीय तहमा काँग्रेसले तालमेल गरेन ।
मोरङका काँग्रेसका नेताहरु मोरङका गठबन्धन नगरी पनि कम्युनिष्टहरु विभाजित भएकोले धेरै स्थानीय तहमा चुनाब जित्ने दावी गर्थे । तर, अहिले चुनावी नतिजा धमाधम सार्वजनिक हुँदा काँग्रेस उसले दाबी गरेजस्तो बलियो अवस्थामा देखिएको छैन ।
चुनावको नतिजा आउँदै गर्दा मोरङ काँग्रेस वृत्तमा यो अनभूति भएको छ । जिल्ला सभापति लिम्बूको फेरिएको बोलीले पनि त्यसको संकेत गर्छ । ‘आन्तरिक व्यवस्थापन पनि गर्न सकिएन’, लिम्बूले भने ‘गठबन्धन पनि व्यवस्थित गर्न सकिएन । यसले नतिजा खस्कियो ।’
अहिलेसम्म मोरङमा आइरको स्थानीय तहको मतगणनाको परिणामले मोरङमा काँग्रेसलाई गम्भीर धक्का लागेको छ । काँग्रेसका एकसे एक ‘हेभिवेट’ नेताहरु डा.शेखर कोइराला, मिनेन्द्र रिजाल, महेश आचार्य, सुजाता कोइराला, डिला संग्रौलाको गृहजिल्लामै काँग्रेसले यसपटक कमजोर नतिजा ल्याउने प्रष्ट देखिएको छ ।
विराटनगर महानगरसहित जम्मा १७ स्थानीय तह रहेको मोरङमा २०७४ को चुनावमा काँग्रेसले १० स्थानीय तह जितेको थियो भने एमालेले ५, माओवादीले १ र जसपाले १ जितेका थिए । अघिल्लो पटक जितेको मिक्लाजुङ गाउँपालिका एमालेले काँग्रेस र माओवादीको गठबन्धनका कारण गुमाएको छ । तर, काँग्रेसले जितेका तीन पालिकामा उसले जित दर्ता गरिसकेको छ भने अन्यमा अग्रता कायम छ ।
मोरङका ७ स्थानीय तहको नतिजा आइसकेको छ । त्यसमध्ये चार वटामा एमालेले जितेको छ । गणना जारी रहेका अरु ५ पालिकामा एमाले उम्मेद्वारहरु अग्रतामा छन् ।
अघिल्लो पटक काँग्रेसले जितेको सुनवर्षी नगरपालिका, लेटाङ नगरपालिका र केराबारी गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएका छन् । अघिल्लो पटक काँग्रेसले जितेको कटहरी गाउँपालिकामा उपाध्यक्ष एमालेले जितेको छ ।
सुनवर्षी कुनैबेला गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्रमा पथ्र्यो । सो पालिकामा काँग्रेसको वर्चश्व रहेको थियो । निर्वाचनमा गठबन्धन गर्नुहुँदैन भन्ने मान्यता राख्ने काँग्रेस नेता डा. मिनेन्द्र रिजालको निर्वाचन क्षेत्रमा पर्ने सो पालिकामा एमाले उम्मदेवारले ऐतिहासिक जित निकालेका छन् ।
सुनवर्षीमा एमालेका श्यामप्रसाद राजवंशी विजयी भए । २०७४ मा मेयरमा काँग्रेसका कालिप्रसाद दास विजयी भएका थिए । यसपटक उपमेयरमा पनि एमालेकै मिरादेवी दास केवरतले जितेकी छन् । साविकका अमरदह गाविस, डाइनिया गाविस र गोविन्दपुर मिलाएर सुनवर्षि बनाइएको थियो ।
कांग्रेसको गढ मानिएको सुनवर्षिमा एमाले उम्मेदवार विजयी भएको घटनाले काँग्रेस वृत्तमा ठूलो खैलाबैला भएको छ । ‘यो डिजास्टर नै हो,’ ती नेताले भने ‘गठबन्धन गरों भन्दा शेखर दाईदेखि अरु कोही नेता मान्नुभएन । अहिले हारियो ।’
काँग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बूकै गृहनगर लेटाङ नगरपालिकाको प्रमुख र उपप्रमुख दुबैमा एमालेका उम्मेदवार विजयी भएका छन् । लेटाङमा एमालेका भूपेन्द्रकुमार लावतीले नेपाली काँग्रेसका ज्ञानेन्द्र ढकाललाई पराजित गरेका हुन् । २०७४ को निर्वाचनमा काँगेसले मेयर र एमालेले उपमेयर जितेको थियो । नगरपालिकाको उपमेरमा दोश्रो कार्यकालका लागि कृष्णकुमारी निरौला निर्वाचित भएकी छन् ।
काँग्रेसकै बलियो पकड रहेको ठानिने केराबारी गाउँपालिका अध्यक्षमा एमालेका सुमन मिरिङचिङ मगर र उपाध्यक्षमा एमालेकी मनमाया मगर निर्वाचित भएका छन् । केराबारीमा डा.शेखर कोइराला निकट रहेका निवर्तमान गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्की गठबन्धन आवश्यक नरहेको भन्दै एक्लै चुनाब जित्ने दावी गर्दै आएका थिए । तर, सो पालिकमा एमालेले जित निकालेको छ ।
काँग्रेस सभापति लिम्बूकै निर्वाचन क्षेत्रमा पनि उर्लाबारी नगरपालिकामा पनि एमाले जित नजिक छ । त्यसहाँ एमाले उम्मेदवार गंगा खरेलले काँग्रेसका निवर्तमान मेयर खड्ग फागोलाई पछि पारेका छन् ।
यसअघि एमालेले जितेको कानेपोखरी एमालेले जितिसकेको छ भने उसले जितेको बेलबारी र पथरीमा पनि अग्रता कायम गरेको छ । यसअघि काँग्रेसले जितेको धनपालथानमा पनि एमाले उम्मेदवारको अग्रता छ भने यसअघि माओवादीले जितेको रंगेली पनि एमाले जितनजिक छ ।
मोरङमा जसपाले जितेको जहदामा भने काँग्रेसले जितेको छ । यस्तै एमालेले ग्रामथान काँग्रेसले फर्काउने संभावना देखिएको छ ।
मोरङको चुनावी परिणामलाई सत्ता गठबन्धनका सहयात्री दलका नेताहरु काँग्रेसको अनावश्यक ‘घमण्ड र दम्भले जन्माएको अपेक्षाकृत नतिजा’ ठान्छन् । ‘गठबन्धन गरौं भन्दा काँग्रेसले पटक्कै चासो दिएन, ठूलो दम्भ देखायो’, माओवादी नेता कुशल लिम्बूले भने ‘तर, अहिले परिणाम उसले भने जस्तो आएन । जहाँ इमान्दारीसाथ गठबन्धन भयो त्यहाँ राम्रो नतिजा आयो ।’
गठबन्धन भएको मोरङको रतुवामाई र सुन्दरहरैंचामा काँग्रेस अगाडि छ भने विराटनगर महानगरपालिकामा पनि गठबन्धनको बलमा अगाडि छ । जबकी विराटनगरमा यसअघि जितेको १, ३ र १९ नम्बर वडा एमालेले जितिसकेको छ ।