धरानमा पनि लौरोधारी साम्पाङ अघि बढे

विराटनगर । काठमाडौं महानगरपालिकामा सबै राजनीतिक दलका उम्मेदवारहरुले पाएको भन्दा धेरै मत खसेको लौरो चुनाव चिन्हले सुनसरीको धरानमा सत्तारुढ गठबन्धन र एमालेलाई कडा चुनौति दिएको छ ।

कांग्रेसका मेयर उम्मेदवार किशोर राईको शुरुदेखिकै फराकिलो अग्रतालाई उछिनेर पछिल्लो गणनामा लौरो चुनाब चिन्ह लिएका स्वतन्त्र उम्मेदवार हर्क साङपाङ अघि बढेका छन् ।

धरान उपमहानगरपालिकाको २८५८७ मत गणना गर्दा साम्पाङले ८१४० मत पाएर काँग्रेसका उम्मेदवार किशोर राईलाई १४ मतले पछि पारेका छन् । राईले ८१२६ मत प्राप्त गर्दा एमालेकी मञ्जु भण्डारी भने ६७१३ मतसहित तेस्रो स्थानमा छन् ।

सबैजसो राजनीतिक दलका नेता कार्यकर्ताले नपत्याएका साम्पाङ धराने मतदाताको विश्वासको बलमा दलहरूलाई हायकायल पारिरहेका छन्।
मतगणना सुरू भएयता कहिले दोस्रो र कहिले तेस्रोमा पर्दै आएका उनले एमाले उम्मेदवार मन्जु भण्डारीसँगको दूरी फराकिलो पारिरहेका छन् ।

उपमेयरमा गठबन्धधनका माओवादी उम्मेदवार अइन्द्रबिक्रम बेघाले ९१३६ मत पाएका छन् भने एमालेका पदम लिम्बूले ८८५१ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर ८५ छ ।

सहरी इलाकामा सामाजिक सन्जालको प्रभावले काम गर्दा सामाजिक काममा सक्रिय साम्पाङले अपत्यारिलो मत प्राप्त गरिरहेका छन् । खासगरि धरानको ठूलो समस्याको रुपमा रहेको खानेपानी समस्या समाधानको लागि उनले आन्दोलन र अभियानको अगुवाई गर्दै आएका थिए । जसले धराने मतदातालाई तानेको छ ।

२०७६ मंसिरको उपनिर्वाचन अघिसम्म धरानलाई ‘वामपन्थी किल्ला’ भनिन्थ्यो। बहुदलीय व्यवस्था पुनर्स्थापना भएयता धरानमा संघ र स्थानीय तहका सबै चुनाव कम्युनिस्ट पार्टीले जितेका थिए। २०७४ मा एमालेबाट निर्वाचित मेयर तारा सुब्बाको मृत्युपछि भएको उपनिर्वाचनमा कांग्रेसका तिलक राईले ‘लालकिल्ला’ भत्काएर जित निकालेका थिए ।

एमालेले आफ्नो किल्ला मान्ने र काँग्रेसले किल्ला भत्काइसकेको दावी गर्ने धरानमा मेयरका उम्मेदवार साम्पाङलाइए दलहरुले हल्का रूपमा लिएका थिए। उनीहरु मुख्य प्रतिस्पर्धी काँग्रेस र एमालेलाई ठान्थे । तर, त्यो बुझाइ गलत सावित भइसकेको छ ।

राजनीतिशास्त्रमा स्नातक गरेका र वैदेशिक रोजगारी सिलसिलामा इराक र अफगानिस्तान पुगेका साम्पाङले केही वर्षदेखि धरानमा विभिन्न काम गर्दै आएका छन्। उनी २०७६ को उपनिर्वाचनमा पनि मेयर उठेका थिए । तर, त्यसबेला जम्मा ४२२ मत मात्र पाएका थिए ।

जेष्ठ ४, २०७९, दिउँसोको ०४:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर