मेयरमा प्रतिष्पर्धा गरेका बेघा उपमेयरमा भिड्दै

धरान । वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा नेपाली काँग्रेसहितको गठबन्धनबाट उपमेयरका उम्मेदवार आइन्द्रविक्रम बेघा धरानेहरुका लागि नौलो नाम होइन । अघिल्लो निर्वाचनमा उपमहानगरको मेयर पदमा उम्मेदवार रहेका उनी यसपटक उपमेयरको उम्मेदवार बनेका छन् ।

धरानको राजनीतिमा क्रियाशील बेघा धरानको विकाशका मुद्दामा स्पष्ट वक्ता, इमानदार युवा नेताका रूपमा परिचित छन् । संघीय गणतन्त्रका लागि भएको माओवादी आन्दोलनमा भूमिगत जीवन समेत बिताएका उनलाई करिब एक वर्ष बेपत्ता पारिएको थियो भने करिब दुई वर्ष जेल जीवन बिताएका थिए ।

माओवादीको परिवर्तनकारी एजेन्डा अनुसार मुलुकमा संघीय गणतन्त्र आएकोमा कसैको दुई मत नहोला । त्यही परिवर्तनकारी शक्तिका युवा अगुवा वेघा यसपालिको स्थानीय चुनावमा धरान उपमहानगरपालिकाको उपमेयरका उम्मेदवार छन् । २०७४ सालको चुनावमा मेयरको प्रत्याशी हुँदा ११ हजार बढी मत प्राप्त गरेका उनी धरानका युवा, महिला, श्रमिक, सुकुमबासीदेखि ज्येष्ठ नागरिक सबैका लागि परिचित छन् ।

राजनीतिक जीवनमा कहिल्यै कुनै पनि प्रकारको पद, प्रलोभन र अवसरवादबाट अलग रहेका वेघा निर्विवाद पनि छन् । स्व. प्रेमप्रसाद बेघा तथा आमा रूपकुमारी बेघा साम्सुहाङका छोरा उनको जन्म २०३९ साल असार २७ गते आइतबार ताप्लेजुङमा भएको थियो । ताप्लेजुङमा जन्म भएपनि उनले राजनीतिक कर्म क्षेत्र धरानलाई बनाएर क्रियाशील रहँदै आएका छन् । धरानमा स्थायी बसोबास वडा १९ हो ।

बेघाको प्रारम्भिक शिक्षा झापाबाट सुरु भएको हो । बाल्यकालमा ताप्लेजुङमा मावलीमा बसेर कक्षा २ का पढ्दै गर्दा झापा बारदशी झरेका उनले मावि स्तरको पढाई पुरा गरेका हुन् । उच्च शिक्षाको लागि धरानको महेन्द्र बहुमुखी क्याम्पसमा पढाई सुरु गरेका उनको राजनीतिक जीवन त्यही अखिल क्रान्तिकारीमा आबद्ध हुँदै सुरु भएको हो ।

२०६० साल भदौ १५ गते पाँचथरको फिदिममा नेता बेघा पक्राउ परे । बन्दी जीवनमा बेगाले भोग्नु परेको नेपाली सेनाको अमानवीय यातनाको अनुभव दर्दनाक छ । त्यसबेला चिरञ्जीवी लामिछाने पार्टीको पाँचथर जिल्ला सचिव थिए । वेघा अनिरास्ववियु क्रान्तिकारीको केन्द्रीय सदस्य । वेघालाई तत्कालीन शासकले ११ महिना बेपत्ता बनायो ।

सेनाले आँखामा पट्टी, हातमा हतकडी लगाएर सैनिक ब्यारेकमा कठोर बन्दी बनाएको थियो । ११ महिनापछि पाँचथरका जिसिअ डिल्लीराम लुइँटेललाई सहकर्मीहरूले सार्वजनिक गर्न दबाब दिएपछि बल्ल जिसिअकै रोवहरमा सार्वजनिक गरिएको थियो । लगत्तै उनलाई हिरासतमा लिएर विराटनगर स्थित मोरङ कारागार चलान गरिएको थियो ।

त्यसैबेला कारागारमा भएको ठुलो झडपमा प्रहरीको कुटाइमा परेर एक बन्दीको मृत्यु भयो । त्यसविरुद्ध बन्दीहरू आन्दोलित भए । त्यसैबीच बेघासहित केहीलाई सुन्दरीजल जेल सरुवा गरियो । सुन्दरीजल बसाइँकै बेला मुलुकमा ०६२÷०६३ को आन्दोलन सुरु भयो भने २०६३ जेठ १२ गते बेघा रिहा भए ।

तीन वर्षको जेल जीवनबीच जेलैबाटै उनले स्नातकसम्मको पढाइ पूरा गरेका हुन् । जनआन्दोलनले मुलुकमा राजतन्त्र समाप्त गरी गणतन्त्र स्थापना हुँदासम्म बेघाले पार्टीका विभिन्न जिम्मेवारी सम्हालेको अनुभव प्राप्त गर्न पाए । एरिया सदस्य हुँदै प्रदेश कमिटीसम्मको जिम्मेवारी पूरा गरेका बेघा विद्यार्थी राजनीतिमा अखिल क्रान्तिकारीको केन्द्रीय सचिवसमेत भएको थिए ।

पार्टीमा सक्रिय बेघाले आन्दोलनको नेतृत्व गर्ने क्रममा प्रदेश १ को राजधानी धरान बनाउने माग सहित भएको आन्दोलनको पार्टीबाट नेतृत्व गरेका थिए । धरानमा सुकुमबासी समस्याको मुद्दा बारम्बार उठाइरहने नेताको रूपमा उनलाई चिनिन्छ । धरानको खानेपानी समस्या समाधानको मुद्दा, विकास निर्माणको सवालमा सशक्त भूमिका निर्वाह गर्ने नेताका रूपमा पनि आइन्द्रविक्रम वेघा अग्र पङ्तिमा आउँछन् ।

शनिबार, १७ बैशाख, २०७९, रातीको ०८:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर