रिजन हत्या प्रकरण

मुख्य अभियुक्तसहित चार थुनामा, दुइ जना सुधार गृह

विराटनगर । धनकुटाको पाख्रीवास नगरपालिका – ४ घर भई मोरङ बुढीगंगा गाउँपालिका –६ बस्ने २६ वर्षिय रिजन दाहालको हत्या आरोपमा पक्राउ परेका मध्ये चार जना अभियुक्त पुर्पक्षको लागि जेल चलान भएका छन् । दुई जनाको हकमा कम उमेरका भएकाले उनीहरूलाई विराटनगरस्थित बालसुधार गृहमा राख्न मोरङ अदालतले आदेश गरेको छ ।
आइतबार भएको थुनछेक पछिको मोरङ अदालतका न्यायाधीश भरत लम्सालको इजालशले बुढिगंगा गाउँपालिका –६ डल्लेपुल बस्ने २६ वर्षिय धन बहादुर तमाङ, सोही ठाउँका २२ वर्षिय राजु तामाङ, डेगबहादुर खड्का र २४ वर्षिय लिखमान भन्ने इश्वर लिम्बुलाई थुनामा राख्न आदेश दिएका हुन् । यस घटनामा पक्राउ परेका ६ जना मध्ये दुइ जनाको बाल बिज्याई कर्ता देखिएकोले उनीहरूको हकमा बाल सुधार गृह पठाउने आदेश भएको मोरङ अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाले जानकारी दिए । अदालतको आदेशपछि चार जना पुर्वक्षको लागि जेल चलान र दुइ जना सुधार गृह गएको श्रेस्तेदार राणाले जानकारी दिए ।

रिजन हत्याको घटनाको मुख्य अभियुक्त धने रहेको प्रहरीको अनुसन्धानदेखि खुलेको थियो । यस घटनामा प्रहरीले चार जनालाई रिजनको हत्या भएको दुइ दिनपछि पक्राउ गरेको थियो धनेलाई प्रहरीले घटना भएको २२ दिनपछि पक्राउ गरेको थियो । हत्या गरेपछि धने भारतर्फ फरार भएका थिए । फरार भएका तामाङलाई प्रहरीले सुनवर्षी नगरपालिका ८ सिक्टी एरियाबाट घटना भएको २२ दिनपछि पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका धनेलाई अन्य चार जनालाई प्रतिवादीलाई कर्तब्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान गर्दै आएकोले सोही मुद्दामा धेनलाई पनि म्याद मिलान गरि सरकारी वकिलको कार्यालयले अदालतमा अभियोग गर्ता गरेको थियो ।

यस्तो छ घटना
कार्तिक २८ गते राती ९ बजे बुढीगंगा गाउँपालिका ७ मा झापड हानेको रिस फेर्ने क्रममा युवाहरू बिच ग्याङ फाइट हुदा रिजन दाहालको हत्या भएको प्रहरीको अनुसन्धानदेखि खुलेको छ ।

बूढीगङ्गा–६ का नानु लिम्बूको भतिजीको जन्मदिन मनाउन रिजन गत २८ कार्तिक राति उनको घर गएका थिए । जन्मदिनको पार्टीका क्रममा दुई युवा समूहबीच विवाद भएको थियो । बूढीगङ्गा–६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङलगायत ६–७ जनाको समूहसँग दाहालको विवाद भयो । विवाद बढ्दै गएपछि जन्मदिन मनाएको घरमा झगडा नगर भन्दै त्यहाँबाट रिजनलाई धनेको समूहले लिएर गएको थियो । नानुको घरदेखि हिँडेका रिजनलाई बूढीगङ्गा–६ का डम्बरबहादुर लिम्बूको बारीमा लगेर आक्रमण गरेका थिए ।

उनीमाथि धनबहादुरसहित ७ जनाको समूहले खुकुरी प्रहार गरेको प्रहरीको अनुसन्धानदेखि खुलेको छ । टाउँकोमा खुकुरी प्रहार गरिएपछि गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । झगडा छुट्याउन गएका रिजनका साथी नानु लिम्बू र कमल थापा पनि घाइते भएका थिए । रिजनले पनि धनेको समूहलाई चक्की प्रहार गुरेर २÷३ जनालाई घाइते बनाएका थिए ।
रिजनको हत्या हुनुभन्दा एक दिन अगाडी धनबहादुरसँग झगडा भएको थियो । सामान्य झगडा हुँदा रिजनले धनबहादुरलाई एक झापड गालामा हानेका थिए । त्यही झापड हानेको रिस फेर्न धनबहादुर जन्मदिनको पार्टीमा गई विवाद झिकेका थिए । तेही झापड हानेको रिस फेर्दा ग्याङ फाइट भएको थियो । ग्याङ फाइटमा परी रिजनको हत्या भएको प्रहरीले जनाएको छ ।

सोमबार, २७ मंसिर, २०७८, बिहानको ०६:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर