विराटनगर । कमाउधन्दामा लागेका व्यापारीले ४ सय रूपैयाँ पर्ने जुत्ता २ हजार रुपैयाँसम्म बिक्री वितरण गर्ने गरेको पाइएको छ ।
विराटनगर–७ मा रहेको ‘सुरभी रिटेल’ नामको जुत्ता पसलले ४ सय रूपैयाँमा खरिद गरेको जुत्ता १ हजार १ सय ५० देखि १ हजार ९ सय ५० रूपैयाँसम्म उपभोक्तालाई बिक्री गरेको अनुगमनको क्रममा भेटिएको हो ।
पसलले १७० देखि ३७५ प्रतिशतसम्म मुनाफा लिएर नेपालमै उत्पादन भएको ‘हाइलाइफ’ कम्पनीको जुत्ता बिक्री वितरण गरेको बिहीबार अनुगमन टोलीले भेटेको हो । कालोबजारी र चर्को मूल्य लिएको भेटिएपछि वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले पसललाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
कानुनी व्यवस्था अनुसार व्यापारीले खरिद मूल्यको २० देखि २५ प्रतिसम्म मुनाफा राखेर वस्तु बिक्री गर्नुपर्छ । तर, सुरभी रिटेलले अत्याधिक मुनाफा आर्जन गरि जुत्ता बिक्री वितरण गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना गरिएको वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।
यसैगरी विराटनगर ७ मा रहेको कपडाको होलसेल गर्ने ‘बञ्जारन’ लाई पनि वाणिज्य कार्यालयले कारवाही गरेको छ । कपडा खरिद र बिक्री गरेको बिलबिजक जारी नगरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन अनुसार २० हजार रुपैयाँ जरिवना गरिएको हो ।