विराटनगर । साढे तीन वर्षअघि विराटनगरको रोडशेष चोकमा संचालनमा आएको होटल बिगले लगानी विस्तार गरेको छ ।
होटलले क्यासिनो, इनडोर स्वीमिङ पुल, जिम क्लब, स्पा, सोना र स्टिम बाथ, हेल्थ क्लब लगायतका सेग्मेन्टको निर्माणका लागि लगानी विस्तार गरेको हो । काठमाडौंका ऊर्जा व्यवसायी भरतबहादुर खत्रीले यसअघि ८ कट्ठा १० धुर जमिनमा ५० करोडका लगानीमा सञ्चालनमा ल्याएको होटलले थप २५ करोडका लागतमा अरु सेवा विस्तार गर्न लागेका हुन् ।
होटलका व्यवस्थापक संजय शाहले विस्तारसहितको होटल बिग छिटोमा आगामी फागुनको पहिलो सातादेखि पूर्ण सञ्चालनमा आउने जानकारी दिए ।व्यवस्थापक शाहका अनुसार क्यासिनोको क्षमता ७० प्लेयरका लागि छ । विराटनगरमा यसअघि रत्ना र स्वागतम गरी २ होटलले क्यासिनो संचालन गरेका थिए । हाल दुबै होटलले क्यासिनो बन्द गरिसकेका छन् । यही देखेर होटल बिगले भने क्यासिनोमा हात हालेको छ ।
यसबाहेक विराटनगरका होटलमा बिगले पहिलो पटक जिम क्लबको संचालन गर्ने भएको छ । जिम क्लबमा २५ जनाको क्षमता हुनेछ । त्यस्तै विराटनगरकै होटलमा पहिलो पटक स्पा पनि बिगले नै ल्याउने भएको छ । स्पा संचालनका लागि भौतिक संरचनाको निर्माण धमाधम भइरहेको छ ।
होटलले महिला र पुरुषका लागि अलगअलग स्टिम बाथ र साउना बाथको निर्माण गरिरहेको व्यवस्थापक शाहले जानकारी दिए । यो अतिरिक्त बिगले निर्माण गरिरहेको इनडोर स्वीमिङ पुलमा ठूला व्यक्ति १५ जनाले सजिलै पौड्न मिल्ने गर्न सक्ने शाहको भनाइ छ ।
स्वीमिङ पुल भएको एक मात्र होटल जेनियल बन्द छ । बिगको स्वीमिङ पुल ४ देखि ६ फिटसम्म गहिरो हुनेछ । होटलले संचालन गर्ने हेल्थ क्लबमा अत्याधुनिक उपकरण राखिने छ । होटलले पार्किङको पनि विस्तार गरिरहेको छ । हाल ४० गाडी र ३५ बाइक अटाउने बिगको पार्किङ क्षेत्र छ । विस्तारपछि ७० गाडी र ६० बाइक अटाउनेछन् ।
विस्तारपछि होटल पूर्ण रूपमा संचालनमा आएपछि कोठामा बस्ने पाहुनालाई स्वीमिङ पुल र हेल्थ क्लबको सुविधा निःशुल्क उपलब्ध गराइने शाहले उल्लेख गरे । हाल कोठाका बस्ने पाहुनाले बिहानको खाजा र विराटनगर विमानस्थलसम्म आउनेजाने सुविधा निःशुल्क पाइरहेका छन । यसअघि २०७५ वैशाख १ देखि सञ्चालनमा आएको होटल बिगमा ६५ वटा कोठा छन् । होटलमा सुइट रुम ३, सुपर डिलक्स १० र डिलक्स रुम ५२ भएको शाहले जानकारी दिए । पाँच तले होटलमा पहिलो तलामा ३० जनाको र पाचौँ तलामा ३ सय र २ सय ५० का गरी ३ वटा छुट्टाछुट्टै ब्याङ्केट हल छन । होटलमा एक फाइन डाइनिङ, एक गार्डेन रेस्टुरेन्ट र एक कफी सेन्टर समेत छन् ।
व्यवस्थापक शाहले होटलमा औद्योगिक–व्यापारिक घरानाका पाहुना, गैर सरकारी र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका अधिकारीहरू, स्थानीय प्रदेश र सङ्घीय सरकारका निकाय र ती सरकारका पाहुना, पूर्व आउने कूटनीतिक नियोगका अधिकारी, मेडिकल कलेज र फर्मास्युटिकल्स र भारतीय पाहुना विशेष ग्राहक हुने गरेको स्पष्ट पारे ।
GREAT SIR.
THANKS ALOT