सहिदग्रामका लागि ५ रुपैयाँ माग्दै अर्याल

विराटनगर । सुन्दा पत्याउन गाह्रो लाग्छ कि हरेक व्यक्तिबाट जम्मा ५ रुपैयाँ संकलन गरेर पनि ३०० जना अटाउने जेष्ठ नागरिक आवास भवन बनाउन सकिन्छ । तर, सत्य त्यहि नै हो । विराटनगरका समाजसेवी जगतप्रसाद आर्यालले हरेक व्यक्तिसँग ५ रुपैयाँका दरले सहयोग उठाएर ३०० व्यक्ति बस्नसक्ने आश्रम बनाए ।

उनै अभियान्ता अर्यालले फेरि ५ रुपैयाँको अभियान सुरु गरेका छन् । यो नयाँ अभियान जेष्ठ नागरिक आवासका लागि होइन सहिदग्राम बनाउनका हो । अब अर्यालले १०० परिवारका लागि तीन कोठे पक्की घर बनाउने अभियान चलाउने अन्तिम तयारी गरिरहेका छन् । परिवार गुमाएर एक्लो भएका र घरबारविहिन भएका, वेवारिसे अवस्थामा रहेका र यस संसारमा आफन्तबाट सहयोग नपाएर सडकमा पुगेका असाहाय वृद्ध वृद्धाहरुलाई न्यूनतम गासबासको व्यवस्था गर्नुपर्छ भनेर अर्यालले २०६१ सालमा ५ रुपैयाँ सहयोग अभियान सुरु गरे । त्यसबाट उनले वृद्धाश्रम सञ्चालन गरे र त्यस्ता जेष्ठ नागरिकहरुलाई आश्रय दिए ।

उनको मिहेनत र परिश्रमलाई सकारात्मक लिएर सहयोग गर्नेहरु पनि समयसँगै बढे । सरकारले पनि सहयोग ग¥यो । त्यहि सहयोगको उपज आज उनले स्थापना गरेको संस्थाको ३ वटा दुईतले पक्की भवन छ । त्यो संरचना उनको ५ रुपैयाँ अभियानबाटै सम्भव भएको हो ।

जनकल्याणको काममा सबैले सहयोग गर्न सकुन् भनेर उनले पाँच रुपैयाँ सहयोग संकलन अभियान चलाएका हुन् । आश्रमका लागि गरिबले पनि सहयोग गर्न पाउनुपर्छ र सक्छन् भनेर उनले ५ रुपैयाँको दर निर्धारण गरेका हुन् । ‘दिनेले त सय, हजार र लाख नै दिनुभएको छ तर मेरो अभियान पाँच रुपैयाँकै हो,’ अर्यालले भने ।

आश्रमका लागि सहयोग गर्नेहरुको निकै लामो सूची छ उनीसँग । उनले धनाड्यदेखि सडकमा माग्दै हिड्नेबाट पनि पाँच रुपैयाँ सहयोग लिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि कालिमन्दिर अगाडि मागेर गुजारा चलाउन बसेका माग्नेहरुले पनि वृद्धाश्रमका लागि भनेर सहयोग गरेको उनी स्मरण गर्छन् ।

जीवनको उत्तराद्र्धतर्फको यात्रामा रहेका आर्याल अहिले पनि आफ्नो परिवारलाई भन्दा आश्रम र त्यहाँ बस्नेहरुसँग बढी घुलमिल छन् । उनीहरुलाई नै बढी समय र स्नेह दिएका छन् । उनी भन्छन् ‘मेरा लागि यहि नै परिवार हो, दसैंमा पहिले म यहाँ टीका लगाउँछु अनि मात्र घर जाने गरेको छु ।’

एउटा अभियानमा सफलता प्राप्त गरेका अर्यालले यतिबेला नयाँ अभियान आरम्भ गर्न लागेका छन् । पहिलो अभियान थालेको १७ वर्षपछि उनले फेरि अर्को नयाँ अभियान चलाउने तयारी गरेका हुन् । एक सय परिवारका लागि सहिद ग्राम बनाउने उनको सोच छ । सडक र नहरको डिलमा त्रिपाल टाँगेर दिन काट्दै आएका अति विपन्न र असहाय परिवारका लागि उनले १०० वटा घर बनाउने योजना बनाएका छन् । त्यसका लागि अब अर्यालले फेरि पाँच रुपैयाँ सहयोग माग्नेछन् ।

सडकमा बस्नेहरुको भविष्य अन्धकार हुने, समाजको सुन्दरतालाई बिरुप बनाउने, न्यूनतम मानवीयताको मूल्यलाई गिज्याउने र त्यो समुदायबाट उत्पादन हुने जनशक्ति योग्यसमेत नहुने जस्ता समस्या अन्त्य गर्न पनि यो अभियान आवश्यक भएको उनी बताउँछन् । यस अभियानमा आफूलाई संसारभर फैलिएर बसेका नेपाली मुलका व्यक्तिहरुबाट सहयोग हुने उनको विश्वास छ । त्यससँगै उनले शुभेच्छुकहरुबाट सहयोग लिने क्रम सुरु गरेको बताएका छन् ।

बुधबार, १५ मंसिर, २०७८, दिउँसोको ०३:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर