चस्मा किन्दा ठगीमा परिएला !

विराटनगर । चस्मा बिक्री गर्ने व्यापारीहरुले उपभोक्ताहरुलाई ठगी गर्ने गरेको पाइएको छ । सस्तो मूल्यमा आयात गरी महंगोमा बेचेर कमाउ धन्दा चलाउँदै आएका व्यापारीले उपभोक्तासँग मनपरि मुल्य लिएर ठगी गर्ने गरेको पाइएको हो । विराटनगरमा रहेको सबैभन्दा ठूलो आँखा अस्पतालमै चस्मा खरिद गर्ने उपभोक्ता ठगिने गरेको पाइएको छ ।

विराटनगर आँखा अस्पताल भित्र सञ्चालित चस्मा पसलमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले अनुगमन गर्दा त्यस्तो ठगीको घटना बाहिर सार्वजनिक भएको छ । कार्यालयले ठगी संलग्न पसललाई तीन लाख रुपैयाँ जरिवानासमेत गरेको छ ।

विराटनगर ११ की शान्तादेवी बरालले विराटनगर आँखा अस्पताल भित्र रहेको चस्मा पसलमा दोब्बर मूल्यमा लेन्स खरिद गरेकी थिइन् । वाणिज्य कार्यालयले अनुगमन गर्दा त्यसको पुष्टि भएपछि जरिवाना गराइएको हो । कार्यालयले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम चस्मा पसललाई कारवाही गरेको कार्यालयका निमिक्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । ‘विराटनगरका अन्य पसलमा त्यस लेन्सको मुल्य १२ सय रुपैयाँ हाराहारीमा पाइने रहेछ । तर, विराटनगर आँखा अस्पतला भित्रको पसलमा २५ सयमा बिक्री गरेर उपभोक्तालाई ठगी गरिरहेको पायौं त्यसैले कारवाहीको दायरामा ल्याएका हौं, उनले भने । कार्यालयले उपभोक्तासँग बढी मूल्य लिएको रकम पनि पसलले उपभोक्तालाई फिर्ता दिन पनि निर्देशन दिएको छ । चस्मा पसललाई आगमी दिनमा २० प्रतिशतभन्दा बढी मुनाफा नलिन पनि निर्देशन दिएको छ ।

उपभोक्ता बरालले चस्माको लेन्स खरिद गर्दा बजारभन्दा बढी मुल्य विराटनगर आँखा अस्तपालले लिएको पाइएपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा कार्यालयले चस्मा पसलमा अनुगमन गरिएको थियो ।

सोमबार, १३ मंसिर, २०७८, बिहानको १०:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर