निश्चल हत्या छानविन बढाउन माग गर्दै प्रदर्शन र चक्काजाम

विराटनगर । बालक हत्यामा संलग्न व्यक्तिहरुलाई पक्राउ नगरेको र प्रहरीले छानविन प्रकृयामा गम्भीरता नदेखाएको भन्दै मोरङ बुढीगंगा स्थित हातिमुढाका स्थानीयहरुले बिहीबार विरोध प्रदर्शन गरेका छन् । स्थानीयहरुले हत्याको छानविन र अभियुक्तलाई पक्राउ गर्नुपर्ने माग गर्दै नाराबाजी सहित प्रदर्शन गरी आधा घण्टा कोशी राजमार्गमा चक्काजाम समेत गरेका छन् ।

कात्तिक २२ गते घर नजिकै खेलिरहेको बेला अचानक हराएका १४ वर्षे बालक निश्चल रायको २४ गते बिहान सिंघिया खोलामा शव फेला परेको थियो । हराएपछि पटक पटक त्यस ठाउँमा खोजी गरिएको भएपनि फेला नपरेका बालक निश्चलको शव २४ गते बिहान पानीमा बग्दै गरेको अवस्थामा भेटिएको थियो । हराएकै दिन साँझसम्म बालक फेला नपरेपछि प्रहरीलाई खबर गरिएको भएपनि प्रहरीले खोजीका लागि आवश्यक गम्भीरता नदेखाएका कारण अपहरणमा परेका बालकको हत्या भएको आशंका परिवारले व्यक्त गर्दै आएका छन् ।

बालकको हत्या भएको १५ दिन बितिसक्दा पनि प्रहरी हत्याराको नजिक पुग्न नसक्नु र घटनाको यथार्थ पत्ता लगाउन असफल भएपछि स्थानीयहरु आक्रोशित बनेका छन् । उनीहरुले छिटोभन्दा छिटो बालक मृत्युको कारण पत्ता लगाउन र अभियुक्तहरुलाई पक्राउ गर्न दबाव दिन थालेका छन् । त्यसै क्रममा स्थानीय संघर्ष समितिले बिहीबार प्रदर्शन गरी इलाका प्रहरी कार्यालय नेमुवा अगाडि राजमार्गमा चक्काजाम गरेका हुन् । उनीहरुले घटना छानविन गर्न प्रहरी गम्भीर नबन्दा अभियुक्तहरु उम्कने र प्रमाण नष्ट हुने सम्भावना बढेको भन्दै पाँच दिन भित्र हत्याको सम्पूर्ण विवरण सार्वजनिक नभए थप दवावमूलक संघर्ष बढाउने चेतावनी दिएका छन् ।

संघर्ष समितिले शनिबार जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि प्रदर्शन र धर्ना दिने कार्यक्रम पनि सार्वजनिक गरेका छन् । बालक हत्या भएको दुई साता बितिसक्दासम्म घटनाको अनुसन्धान गर्दै आएको प्रहरीले पोष्टमार्टम र भिसेरा लगायत अन्य कुनैपनि रिपोर्टहरु संकलन गर्न सकेको छैन । त्यसले पीडितहरुलाई कतै अनुसन्धान प्रभावित भएको त हैन भन्ने आशंका बढाइदिएको छ । प्रहरीले भने भिसेरा रिपोर्ट आउनासाथ पोष्टमार्टमको रिपोर्टपनि प्राप्त हुने र त्यसबाट मृत्युको कारण स्पष्ट हुने भन्दै रिपोर्ट पर्खेर बसेको जनाएको छ । पीडित परिवारले भने रिपोर्ट पर्खिदापर्खिदै सबै प्रमाण नष्ट भई हत्यालाई सामान्य मृत्युमा परिणत गर्ने खेल भएको आशंका गरेको छ ।

हत्यामा संलग्न हुनसक्ने व्यक्तिहरुको बारेमा प्रहरी जानकार भएपनि उनीहरुमाथि अनुसन्धान केन्द्रीत नभएको भन्दै पीडित परिवारले सबै पक्षसँग दवावका लागि सहयोगको आव्हान गरेको छ ।

बिहिबार, ०९ मंसिर, २०७८, दिउँसोको ०३:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर