विराटनगर । सुपारी आयातकर्ताले स्थानीय बजारमा प्रतिकिलो ७ सय रुपैयाँमा सुपारी विक्री गरेर २ सय ५० रुपैयाँको भ्याट बिल बनाएको पाइएको छ ।
गत आर्थिक वर्ष सरकारले दिएको २५ हजार टनको कोटा प्रयोग गरेर सुपारी आयात गरेका व्यवसायीले प्रति किलो सुपारीको ४ सय ५० रुपैयाँ कम मूल्यको बिजक बनाएर बढी मूल्यमा विक्री गरेको रहस्य खुलेको हो । व्यवसायीले कोटाको सुपारी न्यून विजकीकरण गरेर इन्डोनेसियाबाट आयात गरेको हुँदा आन्तरिक बजारमा विक्री गर्दा पनि कम मूल्य देखाएका हुन् ।
इन्डोनेसियामा सुपारीको मूल्य अहिले टनको २ हजार देखि २५ सय डलरसम्म छ । यता नेपालको भन्सार विभागले भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्य सूची (डाटाबेस)मा सुपारीको मूल्याङ्कन १ टनको १ हजार ५० डलर कायम गरेको छ । आयातकर्ताले विभागले तोकेको यही मूल्यमा सुपारीको आयात गरेकाले बिजकमा कम मूल्य राखेर विक्री गरेको बताइएको छ ।
एक आयातकर्ताका अनुसार १ डलरको नेरु १ सय २० का हिसाबले १ हजार ५० डलरको नेपाली रुपैयाँ १ लाख २६ हजार हुन्छ । नेरु १ लाख २६ हजारको १ हजार किलोको सुपारीको अर्थ एक किलोको १ सय २६ रुपैयाँ हुन्छ ।
सुपारीको आयातमा सरकारले प्रति किलोको ४५ रुपैयाँ भन्सार महसुल र थप ५ प्रतिशत अन्तःशुल्कसहित भ्याटसमेत तोकेको छ । आयातकर्ताले भन्सार नाकामा सुपारीको जाँचपास गराउँदा उल्लेखित १ सय २६ रुपैयाँलाई आधार बनाएर नै राजस्व तिरेका छन् । यसरी न्यून विजकीकरणमा कारोबार हुँदा राजस्वको ठूलो हिस्सा छली भएको पाइएको छ ।
आयातकर्ताले किलोको १ सय २६ रुपैयाँ बेस भ्यालुमा भन्सार महसुल ४५ रुपैयाँ जोड्दा १ सय ७१ रुपैयाँ हुन आउँछ । यसमा अन्तःशुल्कको ५ प्रतिशतले हुन आउने रकम ८ रुपैयाँ ५० पैसा जोड्दा १ सय ७९ रुपैयाँ ५० पैसा हुन्छ । यसमा १३ प्रतिशत भ्याट लाग्दा हुने रकम २३ रुपैयाँ ५० पैसा जोड्दा २ सय ३ रुपैयाँ पर्न जान्छ ।
यसमा लोडिङ–अनलोडिङ र अन्य फुटकर खर्च किलोको ७ रुपैयाँ थपिँदा २ सय १० रुपैयाँ हुन्छ । यसरी एलसी लगायतका डकुमेन्टअनुसार इन्डोनेसियाबाट व्यवसायीका गोदाममा सुपारी आइपुग्दा १ किलोको कागजी मूल्य २ सय १० रुपैयाँ परेको देखिन्छ । यही २ सय १० परेको देखिएको सुपारीलाई व्यवसायीले किलोको २ सय ५० को कर बिजक बनाएर ६ सय ५० देखि ७ सयमा विक्री गरेका हुन् ।
‘व्यवसायीले इन्डोनेसियामा परल मूल्य २ हजार डलरको बिल बनाएर सुपारी भित्र्याएका भए १ डलरको १ सय २० का हिसाबले १ किलो सुपारीको बेस भ्यालु नेरु २ सय ४० रुपैयाँ हुन्थ्यो’, एक व्यवसायीले भने, ‘यसमा ४५ रुपैयाँ भन्सार महसुल, ५ प्रतिशत अन्तःशुल्क र भ्याट जोड्दा १ किलो सुपारीको मूल्य ३ सय ३८ रुपैयाँ पर्न आउँछ । यसमा प्रतिकिलो ७ रुपैयाँ फुटकर खर्च जोड्दा प्रति किलो ३ सय ४५ पर्छ । यसरी आयातकर्ताको वास्तविक परल मूल्य यही ३ सय ४५ रुपैयाँ हो । यही ३ सय ४५ को सुपारीलाई व्यवसायीले २ सय ५० को कर बिजक बनाएर ७ सयमा विक्री गरेका हुन् ।’
यसरी कम मूल्यमा विक्री गर्दा व्यवसायीले छलेको रकम ४ सय ५० रुपैयाँको २५ प्रतिशत आयकर १ सय १२ रुपैयाँ र भ्याट ५८ रुपैयाँ ५० पैसा राजस्व छली भइरहेको व्यवसायीको दाबी छ ।त्यस्तै न्यून विजकीकरण गरेर सुपारी आयात गरेका व्यवसायीले सुपारीको एलसीमा उल्लेखितभन्दा बढी तिर्न बाँकी रकम हुन्डीबाट पठाउने गरेका छन् ।
आयातकर्ता एवम् मोरङ व्यापार संघका पूर्व अध्यक्ष खेमचन्द जैनले सुपारीको भन्सार मूल्याङ्कन वृद्धि गर्न माग गरेका छन् ।‘अन्तर्राष्ट्रिय बजारमा सुपारीको मूल्य टनको २ हजार देखि २५ सय डलरसम्म पुगिसकेको छ’, व्यवसायी जैनले भने, ‘तर नेपालमा भने भन्सारको डाटा बेसमा १० वर्ष पुरानो भन्सार मूल्य कायम राखिएको छ । आजको सूचना प्रविधिका जमानामा कुनै पनि वस्तुको अन्तर्राष्ट्रिय मूल्य बुझ्न ५ मिनट पनि लाग्दैन । त्यसैले भन्सार विभागले डाटा बेसमा नै सुधार गर्नु आवश्यक छ ।’
जैनले भन्सार विभागले नै सुपारीको मूल्याङ्कन कम राखेको हुँदा आयातकर्ताले न्यून विजकीकरण गरेर आयात गरेको र कम करबिजकमा विक्री गरेको स्पष्ट पारे । उनले सुपारीको आयातमा भारतले जति प्रतिशत महसुल लगाएको छ नेपालले पनि त्यति नै लगाउनु पर्ने धारणा राख्छन् । उनले भने ‘सुपारीमा परिमाणात्मक बन्देज र यसको आयातमा कोटा प्रणाली लगाउनु हुँदैन । यसले भ्रष्टाचार अझ बढाउँछ । यसको सट्टा भारतले लिए जति नै नेपालले पनि राजस्व असुल गरेर भन्सार मूल्याङ्कन वास्तविक बनाउँदा भारत तस्करी गर्ने उद्देश्यले कसैले सुपारीको आयात गर्दैन र गुट्खा उद्योगले पनि सहज रूपमा सुपारी पाउँछन् ।’ गत आर्थिक वर्षमा केपी ओली नेतृत्वको सरकारले ५ व्यवसायीलाई गोप्य रूपमा २५ हजार टन सुपारी आयात गर्न कोटा दिएको थियो ।