विराटनगर । प्रदेशसभाबाट मंगलबार विश्वासको मत लिने तयारीमा रहेको प्रदेश १ को सत्तारूढ पाँच दलीय गठबन्धनको तयारी एमालेका कारण असफल भएको छ । उक्त प्रस्ताव संसद बैठकमा टेबल हुनै नपाई आजको बैठक स्थगित भएको छ ।
सभामुख प्रदीपकुमार भण्डारीले संसदमा प्रतिपक्षी दलको उपस्थिति नभएका कारण बैठक स्थगित गरेको जानकारी दिँदै भोलीसम्मका लागि बैठक स्थगित गरेका हुन् । संसद नियमावलीमा कोही पनि प्रतिपक्षी दलका सांसद संसदमा उपस्थित नभए बैठक चल्न नसक्ने उल्लेख छ । सोही अनुसार बैठक स्थगित भएको सभामुखको भनाइ छ । सभामुख भण्डारीले भोली बस्ने बैठकमा विपक्षी दलको तर्फबाट सांसदहरु अनिवार्य उपस्थित हुन आग्रह गरेका छन् ।
एमालेले भने आजको प्रदेश १ को बैठक स्थगित गर्न माग गरेको थियो । अधिवेशनका लागि जिल्ला गएका प्रदेशसभा सदस्यहरू आइनपुगेको भन्दै एमालेले बैठक स्थगित गर्न माग गरेको हो ।
एमालेका प्रदेश १ का प्रमुख सचेतक बुद्धिराज राजभण्डारीले बन्दका कारण जिल्ला गएका प्रदेश सभा सदस्य आइनपुगेकाले आजको बैठक स्थगित गर्न माग राख्दै संसद् सचिवालयमा पत्र दिएका थिए ।