धरान । धरान उपमहानगरपालिकाले डम्पिङ साइड व्यवस्थित गर्दै उर्जा उत्पादन गर्ने भएको छ । फोहोर फाल्ने व्यवस्थित ठाउँ नहुँदा चारकोषे जङ्गलमा फोहोर थुपार्ने र आगो लगाएर नष्ट गर्ने गर्दा आगलागीका घटना हुने भएकोले त्यसलाई नियन्त्रण गर्न जनदवाव सिर्जना भएपछि उपमहानगरले डम्पिङ साइडलाई व्यवस्थित गर्ने प्रतिवद्धता जनाएको हो ।
चारकोशे जङ्गलमा जथाभावी फालिने फोहोरमा फलाम, तामा, जस्ता धातुजन्य वस्तु संकलन गर्नेहरुले उनीहरुको सजिलोका लागि फोहोरमा आगो लगाउने गर्छन् । जसबाट जङ्गलमा आगलागीका घटनाहरु बारम्बार हुने गरेको छ । त्यसबाट वन क्षेत्रको आगलागीसँगै त्यहाँको वातावरणमा समेत नकारात्मक असर पुग्दै आएको छ । धुँवा फैलिएर पर्यावरणलाई असर भएको भन्दै आलोचना र विरोध भएपछि उपमहानगरले त्यसमा सुधार गर्ने बताएको हो ।
उपमहानगरपालिकाले समस्याको दीर्घकालीन समस्या समाधानका लागि नगरको फोहोरमैला व्यवस्थापन गर्न भेञ्चर वेस्ट टु इनर्जी प्रा.लि.सँग सहकार्य गरेको छ । प्रा.लि.ले फोहोरबाट उर्जा उत्पादन गर्ने प्रशोधन प्लान्ट वडा नं. ५ पानबारीमा निर्माण गरेर परिक्षण पनि गरिसकेको वातावरण अधिकृत भेषराज घिमिरेले बताए ।
प्रालिले आगामी मंसिर भित्रमा फोहोरबाट उर्जा उत्पादन सुरु गर्ने र ग्याँस बजारमा बेच्ने पनि उनले बताए । हाल डम्पिङ साइडमा केही समस्या देखिएको कारण व्यवस्थापनको लागि र फोहोर जल्ने समस्या समाधान गर्न पहल भइरहेको घिमिरेको भनाइ छ । डम्पिङ साइड व्यवस्थित गरि दैनिकरुपमा फोहोर व्यवस्थापन गर्ने उनको भनाइ छ । इटहरीको फोहोरमैलासमेत धरानमा पर्ने चारकोशे जङ्गलमा फाल्ने गरिएको छ ।