राष्ट्रिय अपाङ्ग महासंघले प्रदेश १ मा जनगणनादुत खटायो

विराटनगर । आगामी कात्तिक २५– मंसिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनाका लागि राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ ले १४ वटै जिल्लामा जनगणनादुत खटाएको छ ।

अपाङ्गता भएका व्यक्तिहरु राष्ट्रिय जनगणनामा नछुटुन भन्नका लागि जिल्ला जनगणना कार्यालय र सरकारी निकायसँग समन्वय गर्ने गरि जनगणनादुत खटाईएको अपाङ्ग महासंघ प्रदेश १ की अध्यक्ष पार्वता श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ का अनुसार मोरङमा भीमा खतिवडा, झापामा देवीबहादुर बस्नेत, इलाममा राधिका पौडेल, पाँचथरमा समीक्षा मुखीया, ताप्लेजुङमा डोल्मा शेर्पा, सुनसरीमा अनिलकुमार कुसियत, धनकुटामा यामबहादुर बस्नेत, ते¥हथुममा डोलेश्वर गड्तौला, संखुवासभामा विनु राई, सोलुखुम्वुमा माईती शोभा राई, ओखलढुङ्गामा गोपालमान थापा, खोटाङमा राजनप्रसाद आचार्य, उदयपुरमा चन्द्रकुमार राई, भोजपुरमा शक्ति वान्तवालाई जनगणना दुत बनाएर मंगलबारदेखि खटाईएको छ ।

विश्व स्वास्थ्य संगठनले नेपालमा १०–१५ प्रतिशत अपाङ्गता भएका व्यक्ति रहेको भनेपनि राष्ट्रिय जनगणना २०६८ मा अपाङ्गता भएका व्यक्तिको संख्या १ दशमलव ९४ प्रतिशत मात्र देखिएको अपाङ्ग महासंघ प्रदेश १ का कार्यक्रम संयोजक सरोज नेपालीले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुको सही तथ्याङ्क समेट्नका लागि जनगणनादुत खटाउने, सरोकारवाला निकायसँग छलफल गर्ने, सामाजिक सञ्जालमा अभियान चलाउने लगायतका कामहरु गरिदै आईएको उहाँले बताउनुभयो । अपाङ्ग महासंघले अपाङगताको क्षेत्रमा कार्यरत ३५ वटा संस्थाहरुले पनि सहयोगीका रुपमा खटिने जनाएको छ ।

मङ्गलबार, २३ कार्तिक, २०७८, साँझको ०७:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर