मोरङ कारागारमा झडप प्रकरण

चौकीदारसहित १४ नाइकेको सरुवा, कार्तिक कामत बने नयाँ चौकीदार

विराटनगर । कारागारका चौकीदार, नाइके र अन्य कैदीबन्दीबीच विवाद भई झडपको अवस्था आएपछि चौकीदारसहित १४ जनालाई जेल सरुवा गरिएको छ ।

मंगलबारको झडपमा घाइते भएका चौकीदार किरण गुरुङसहित १४ जना नाइके र भाइनाइकेहरुहरुलाई अन्यत्र कारागारमा सरुवा गरिएको हो । कारागार विभागको निर्देशनमा चौकीदार गुरुङसहित पाँच जनालाई सुनसरीको झुम्का कारागारमा र नौं जनालाई झापा जिल्ला कारागारमा सरुवा गरेको निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए ।

कारागार प्रशासनले चौकीदार गुरुङसहित शेखर राई, सूर्यदीप गुप्ता, निर्मल ढकाल र पदमकुमार लिम्बुलाई झुम्का कारागारमा सरुवा गरेको छ । यस्तै नाइके र भाइ नाइकेहरू एलएक्स नेपाली, रामबहादुर लिम्बू, रोशन दाहाल, डिल्ली देवान, कपिलकुमार साह, विशाल तामाङ्ग, रमेश मण्डल, बबिहाङ राई र राजु रार्इलाई झापा जिल्ला कारागार पठाएको जेलर पोखरेलले जानकारी दिए । उनीहरुलाई साँझसम्म सम्बन्धित कारागारमा पुर्याइसक्ने बताइएको छ ।

चौकीदार गुरुङको सरुवा भएपछि तत्कालका लागि कार्तिक कामतलाई चौकीदारको जिम्मेवारी दिएको पोखरेलले जानकारी दिएका छन् । कामत ज्यान मार्ने उद्योगमा जेल परेका हुन् । उनी मोरङ कारागारमा १७ वर्षदेखि रहदै आएका छन् । चौकीदार गुरूङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले कैदीबन्दीहरुलाई यातना दिएको आरोपमा दुई पक्षबीच बिहान १० बजेतिर झडप भएको थियो । झडपमा परि चौकीदार गुरूङसहित ६ जना कैदीबन्दी घाइते भएका थिए ।
चौकीदार गुरुङले कारागारभित्र मनोमानी गर्ने र कैदीबन्दीलाई चरम यातना दिने गरेको भन्दै उनको समूहसँग अरु कैदीबन्दी रुष्ट बनेका थिए । त्यसै विषयमा विवाद हुँदा दुई पक्षबीच मंगलबार झडप भएको थियो । निमित्त जेलर पोखरेलले घटनाका बारेमा थप बुझ्ने प्रयास भइरहेको बताए । उनका अनुसार चौकीदारको समूहविरुद्ध अरु कैदीबन्दी आन्दोलितसमेत भएका े हो ।

चौकीदार गुरुङको निर्देशनमा कारागारका नाइके र भाइनाइकेहरुले कुटपिट गर्ने तथा यातना दिने एवं अत्याचार गर्ने गरेको भन्दै अरु कैदीबन्दी आन्दोलित बनेपछि झडपको अवस्था उत्पन्न भएको कारागार प्रशासनले जनाएको छ । आन्दोलित बनेका कैदीबन्दीले गुरुङसहित १४ जना कैदीबन्दीलाई कारागारभित्रकै एउटा कोठामा केही बेर थुनिदिएका थिए ।

कारागारभित्र चौकीदारले नाइके र भाइ नाइके चयन गर्दछन् । १० जना कैदीबन्दी बराबर एक जना भाइनाइके, २० देखि २५ जना कैदी बन्दी बराबर नाइके बन्ने व्यवस्था छ । कारागारभित्र नाइके र भाइ नाइकेहरूले चौकीदारको निर्देशनअनुसार कैदीबन्दीहरू आफ्नो पकडमा राख्ने गर्दछन् । मोरङ कारागारमा ८९७ जना पुरुष कैदीबन्दी रहेका छन् । जसमा ७२ महिला रहेका छन् ।

मङ्गलबार, २३ कार्तिक, २०७८, दिउँसोको ०४:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर