झापा, मोरङ र उदयपुरमा भएको दुर्घटनामा सात जनाको मृत्यु

विराटनगर । शनिबार साँझ मोरङ, झापा र उदयपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा सात जनाको मत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।

भाइटीकाको दिन साँझ मोरङको केराबारी ९ बेलचौरीमा स्कर्पियोले मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको थियो । उत्तरबाट दक्षिणतर्फ जादै को ४० प १७२७ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आएको बा.१० च.४३०० नम्बरको स्कारपियो आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्युभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक लेटाङ नगरपालिका २ का ३० वर्षे कमल कार्की र पथरी शनिश्चिरे नगरपालिकाका ५५ वर्षे तिलकबहादुर सुवेदीको घटनास्थलमै र ४५ वर्षे सीता कार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।

मोरङकै रंगेली नगरपालिका ६ टकुवा–पिपल चौकमा साइकलबाट लढेर घाइते भएका स्थानीय ३० वर्षे सत्रुघन साहको मृत्यु भएको छ । साइकलमा हिडिरहेका साहको साइकल अचानक अनियन्त्रित भएर लढ्दा घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो ।

यसैगरी उदयपुरको त्रियुगा नगरपालिका ११ मेन चोकमा अटो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलको पछाडि बसेर सवार रहेका ८५ वर्षे कुलप्रसाद भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चोकबाट पूर्वतर्फ जाँदै गरेको स १ ह १६२० नम्बरको अटो र को १९ प ९६४६ नम्बरको मोटरसाईकल ठोक्किएको थियो । दुर्घटनामा घाइते भण्डारीको विराटनगर स्थित न्युरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

यस्तै झापाको बिर्तामोड नगरपालिका ६ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल र स्कुटी आपसमा ठोक्किदा स्कुटीको पछाडि बसेका १६ वर्षे मनिस कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै झापाकै मेचीनगर नगरपालिका १३ तेलिबारीमा दुई वटा मोटरसाइकल अपसमा ठोक्किँदा चार जना घाइते भएकोमा मेचीनगरका १८ वर्षे अभिषेक श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा घाइते अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सबै दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

आइतबार, २१ कार्तिक, २०७८, दिउँसोको ०१:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर