विराटनगर । सुनसरीको अमडुवामा बिशेष औद्योगिक क्षेत्र निर्माणका लागि उद्योग मन्त्रालयको विज्ञ टोलीले छलफल गरेको छ ।
अमडुवामा विषेश औद्योगिक क्षेत्र निर्माण गर्न सम्भव भए नभएको, उद्योगीहरुलाई सहज वा असज हुने, तयार गर्नुपर्ने पूर्वाधारहरु, औद्योगिक क्षेत्र स्थापना गर्दा श्रमबजारको अनुकुलता आदि विषयमा नेपाल उद्योग परिसंघका प्रतिनिधिहरुसँग बुधबार छलफल गरेको हो ।
मन्त्रालयको विज्ञ टोलीका फोकल पर्सनहरु डा. भागवत रिमाल र डा. सूर्य थापाले परियोजनाका विविध आयामलाई समेटेर अवधारणा प्रस्तुत गरेका थिए । त्यस क्रममा औद्योगिक क्षेत्र निर्माणको आरम्भ र त्यसपछि त्यहाँको सुरक्षा आदि विषयमा पनि छलफल भएको थियो ।
छलफलका क्रममा नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले मोरङ सुनसरी क्षेत्रलाई समेट्ने गरी लामो समयदेखि उद्योगीहरुले विशेष आर्थिक क्षेत्रको माग गर्दै आएको भन्दै सरकारले छिटोभन्दा छिटो यो परियोजना अघि बढाउनुपर्ने सुझाव दिए । उनले समयसीमा तोकेर सरकारले विशेष आर्थिक क्षेत्रको कामलाई अगाडि बढाउँदा यस क्षेत्रका उद्योगीहरुले लाभ लिन सक्ने र यहाँको आर्थिक विकास पनि योगदान पुग्ने विश्वास व्यक्त गरे ।
सुनसरीको अमडुवामा मोरङ सुगर मिलको नाममा रहेको करिब ६५० बिगाहा जग्गामा विशेष आर्थिक क्षेत्र निर्माण गर्न सकिने भन्दै यहाँका उद्योगी व्यसायीहरुले सरकारलाई आग्रह गर्दै आएका छन् । सरकारले त्यसको सम्भाव्यता अध्ययन गर्ने प्रक्रिया स्वरुप उद्योग मन्त्रालयले प्रारम्भीक छलफल थालेको उद्योगीहरुले बताएका छन् ।
छलफलमा उद्योगी व्यवसायीहरु सुशील धनावत, किसनकुमार अग्रवाल, दीपक पौड्याल, रिसब दाहाल, रजत तोदी, निखिल अग्रवाल, साकेत राठी, कर्ण रायमाझी लगायत सहभागी थिए ।