विराटनगर । भारतबाट तस्करी भएर आएको चाँदीसहित प्रहरीले एक जना भरियालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) रानीले विराटनगर–१६ बाट चाँदीका सामग्रीसहित भरिया विराटनगर १५ का बलराम सिंहलाई पक्राउ गरेको हो । पक्राउ परेका सिंहबाट झण्डै २ किलोग्राम चाँदीका सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने सिंह भरिया रहेको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले धन्तेरा ठूलो गणेश लक्ष्मी १४ थान, धन्तेरा सानो गणेश लक्ष्मी १७ थान, पथ्थर जडित चाँदीको औंठी २४ थान र चाँदीको सिक्का १ सय थान बरामद भएको सशस्त्र प्रहरी मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए । पक्राउ परेका सिंहको साथबाट चाँदी तस्करी गर्ने झोला पनि प्रहरीले बरामद गरेको छ । शरिरमा झोला बाँधेर ल्याउने गरेको अनुसन्धानका क्रममा पुष्टि भएको छ ।
अवैध रूपमा चाँदी भारततर्फ तस्करी हुने गरेको पाइएको छ’, एसपी पौडेलले भने, ‘भारतबाट विभिन्न आकार दिँदै सामग्री तयार पारी नेपालतर्फ तस्करी गर्ने गरेको पाइएको छ ।’ चाँदीका मूर्ति र विभिन्न सामग्री शरीरमा कपडाले बाँधेर ल्याउँदै गरेको अवस्थामा सिंह पक्राउ परेका परेका थिए । यसअघि पनि रानी नाकादेखि प्रहरीले दुई किलो एक सय ६२ ग्राम चाँदीबाट निर्मित सामग्री बरामद भएको थियो ।
तिहारमा चाँदीको कारोबार बढी हुने गर्दछ । नेपालदेखि काँचो चाँदी भारतर्फ पठाउने र उत्ताबाट तयारी सामान बनाएर विराटनगरतर्फ भरिया प्रयोग गरि तस्करी गरि ल्याउने गरेका छन् । ‘नेपालमा भन्दा भारतमा तयारी सामग्री राम्रो डिजाइन हुने भएकाले यहाँका केही ज्वेलर्सले काँचो चाँदी भरिया प्रयोग गरि तस्करी गर्ने गरेको पाइएको छ,’ स्रोतले भने ।
पूजापाठ र गरगहनाका रूपमा प्रयोग गर्न मिल्ने गरी सामग्री बनाएर नेपालतर्फ अवैध रूपमा ल्याउने गरेको पाइएको प्रहरीले जनाएको छ । यसअघि पनि गरगहना बनाएर भारतबाट नेपालतर्फ चाँदी तस्करी हुने गरेको थियो । चाँदीबाट मूर्ति, चम्चा, आचमनी, पञ्चपात्रो, छत्री, माछा र विभिन्न गरगहना बनाएर भारतबाट तयारी सामान तस्करी हुने गरेको प्रहरीले जनाएको छ ।
तिहारमा बिक्रीका लागि चाँदीका सामग्री तस्करी गरेको हुन सक्ने प्रहरीको अनुमान छ । धन्तेरसको दिन चाँदीको कारोबार बढी हुने गर्दछ । त्यही भएर यहाँका केही व्यापारीले भरियालाई निश्चित रकम दिएर चाँदीको तस्करी गरि विराटनगर ल्याउने गर्दछन् । बरामद सामग्री कसको हो भन्ने खुलेको छैन । पक्राउ परेका युवा भरिया मात्र रहेको प्रहरीले जनाएको छ ।
‘विभिन्न सामग्री बनाएर ल्याउने नाममा चाँदी तस्करी हुन थालेको पाइएको छ’, उनले भने, ‘प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी बढाएको छ ।’ अभियुक्तले विराटनगरमा एकजनालाई लगेर दिनु भनेर आफूलाई चाँदी बोकाएर पठाएको बयान दिए पनि विराटनगरका सम्पर्क व्यक्ति र उनलाई जोगबनीमा चाँदीबाट निर्मित सामग्री दिनेको नाम भने नखुलाएको प्रहरीले जनाएको छ । उनले ती सामाग्री विराटनगर ल्याइदिए बापत आफूले पाँच सय रुपैयाँ पाउने गरेको बयान प्रहरीलाई दिएका छन् । चाँदी तस्करीमा ठूलै गिरोहको संलग्नता रहेको प्रहरीको आशंका छ । तस्करको ठूलै सञ्जाल छ । प्रहरी त्यो सञ्जाल तोडेर सीमा क्षेत्रबाट हुने चाँदी तस्करी पूरै नियन्त्रण गर्ने अभियानमा लागेको प्रहरीले जनाएको छ ।
प्रहरीले गत जेठ २९ गते पनि भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा विराटनगर भन्सार कार्यालयको दुई नम्बर ढाटबाट तीन किलो चाँदीका गरगहना सहित एक जनालाई पक्राउ गरेको थियो । २०७३ साल चैत २४ गते रंगेली नगरपालिका ७ बाट प्रहरीले १० किलो चाँदी र चाँदीका गरगहना बरामद गरेको थियो । त्यस्तै २०७३ चैत २९ गते भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रंगेली ७ बाटै पाँच किलो चाँदीका गरगहना प्रहरीले बरामद गरेको थियो ।