विराटनगर । कटहरी गाउँपालिकाले सिंघिया खोला किनारमा निर्माण गर्दै गरेको सामूदायिक भवन निर्माण सम्पन्न नहुँदै नदी कटानको जोखिममा परेको छ । कटहरी वडा नं १ मा निर्माणाधीन सामुदायिक भवनको सम्पूर्ण भाग केही दिनअघि आएको बाढीमा चुर्लुम्म डुबेको थियो ।
नदीबाट करिव २०० मिटरभन्दा नजिकको दूरीमा निर्माण गरिएको भवन हरेक वर्षामा जोखिममा पर्ने जान्दाजान्दै निर्माण गरिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । स्थानीयहरुले गलत ठाउँमा सामुदायिक भवन निर्माण गरिएको भन्दै असहमति जनाएका हुन् ।
कटहरी १ का वडाध्यक्ष कपुर माझीले सबैको सहमतिमा भवन निर्माण गरिएको र गाउँपालिकाका प्राविधिक इन्जिनियरहरुको सुझावमै भवन बनाएको दाबी गरेका छन् । उनले सामुदायिक भवन निर्माण भइरहेको विषय जानकारी भएपनि त्यसको प्राविधिक पाटापक्षको बारेमा गाउँपालिकाका प्राविधिक रामसुन्दर थापालाई जानकारी हुने बताए ।
वडाध्यक्ष माझीले खोला किनारमा सामुदायिक भवनको प्राविधिक पक्षको बारेमा थापालाई जानकारी रहेको भन्दै पन्छिएपनि थापाले भने आफूलाई त्यस बारेमा केही जानकारी नरहेको प्रतिक्रिया दिएका छन् । उनले आफू भवन सुरु गर्दाको समयमा कटहरीमा नरहेको र भर्खरै मात्र आएको भन्दै त्यसका बारेमा अर्का कर्मचारी शम्भु सापकोटासँग बुझ्नु पर्ने बताए ।
गाउँपालिकाका योजना शाखा प्रमुख सम्भु सापकोटाले गाउँसभाले निर्णय गरेका कारण त्यस ठाउँमा सामुदायिक भवन बनेको तर भवन बनाउने निर्णय गर्दा नदी कटानको जोखिम क्षेत्र भनेर ध्यान दिन नसकेको बताए । ‘यसरी नदीले असर गर्छ भन्ने सोचिएन, गाउँपालिकाको गाउँसभाले निर्णय गरेकै ठाउँमा भवन बनेको हो,’ उनले भने, ‘नदी किनारमा अघिल्लो वर्षदेखि तटबन्धको काम भइरहेकोले भवनको जोखिम कम हुनेछ ।’ उनले अर्को वर्षसम्म तटबन्धको काम सकिने भएकोले भवनलाई नदीले असर नगर्ने बताए ।
गाउँपालिकाले नदी कटानको जोखिममा पर्दैन भनेपनि अहिले नै भवन कटानको जोखिममा परिसकेको भन्दै स्थानीय युवाहरुले विरोध गरेका हुन् ।