प्रदेश १ : मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा आज टेबुल हुने

विराटनगर । प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्यले संसद्सामु विश्वासको मत लिन गरेको प्रस्ताव आज प्रदेशसभामा टेबल हुँदैछ । असोज २५ मा विश्वासको मत चाहिएको प्रस्ताव सरकारले संसद् सचिवालयमा पठाएको थियो ।

यो प्रस्ताव आज एक बजे बस्ने प्रदेशसभा बैठकमा टेबल हुने भए पनि मतदान कहिले हुने भन्ने टुंगो चाहिँ लागेको छैन । बैठकअघि बस्ने कार्यव्यवस्था तथा पराशर्म समितिको बैठकमा यसबारे निर्णय हुने जानकारी सभामुख प्रदीपकुमार भण्डारीले दिएका छन् । सत्तारुढ एमाले मतदानलाई सकेसम्म पर धकेल्ने प्रयासमा छ । तर, विपक्षी गठबन्धन भने शुक्रबार नै मतदान गराउनुपर्ने मागमा छ ।

भदौ ९ मा एमाले विभाजित भएको भोलिपल्ट गठित सरकारले दल विभाजनको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने थियो । तर, संवैधानिक प्रावधानको आफू अनुकूल ब्याख्या गर्दै सरकारले आफ्नो आयु लम्ब्याउने प्रयास गरिरहेको थियो । संसद् स्थगन गरेर सभामुखले सरकारी इच्छा पूरा गरिदिएको विपक्षीले बताएका थिए । यसरी आयु लम्ब्याएर प्रदेश सरकारले पर्यटन बोर्ड, खेलकुद बोर्ड, सञ्चार प्रतिष्ठान लगायतका कार्यकर्ता भर्ति गरेको थियो ।

सत्तारूढ एमालेका ४१ सांसद छन् । एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ । यो संख्या सरकार टिकाउन पुग्दो संख्या होइन । संसदमा सामान्य बहुमत सिद्ध गर्न ४७ मत आवश्यक पर्छ । विपक्षी गठबन्धन भने ५० मत संख्या साथमा लिएर नयाँ सरकार बनाउने तयारीमा बसेको छ ।

विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मन्चका १ गरी ५० सांसद छन् । केन्द्रीय तहको सहमति अनुसार प्रदेश १ र वागमतीमा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्नेछ । जसअनुसार प्रदेश १ मा राजेन्द्र राई र वागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने तय छ ।

शुक्रबार, ०५ कार्तिक, २०७८, बिहानको ११:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर