विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष भब्य रथयात्रा प्रदर्शन हुने गरेकोमा यस पटक कोरोना महामारीका कारण भीडभाड नगरी खटयात्रा गरेर परम्परालाई निरन्तरता दिइएको छ ।
विराटनगरस्थित राधाकृष्ण मन्दिरबाट मंगलबार परम्परागत खटयात्रा निकालेर नगर परिक्रमा गरिएको छ । खटयात्रामा सीमित भक्तजनहरु सहभागी भएका थिए भने विभिन्न झाँकीसहितका दर्जनौं गाडीहरु रथसँगै परिक्रमा गराइएको थियो ।
दक्षीण एशियाकै ठूला मध्येको रथयात्राको रुपमा मानिएको विराटनगरको राधाकृष्ण रथयात्रामा लाखौं भक्तजनहरु सहभागी हुने गरेका थिए । मोरङ, सुनसरी तथा भारतको अररीया जिल्लाबाट रथयात्रा अवलोकनकै लागि ठूलो संख्यामा भक्तजनहरु विराटनगर आउने गरेका थिए । यस पटक कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरेर रथयात्रा आयोजक समितिले परम्परागत खटयात्रा मात्र गर्ने निर्णय लिएको थियो ।
बिक्रम सम्वत् १९८८ मा पहिलो पटक विराटनगरमा राधाकृष्ण मन्दिरबाट खटयात्राको प्रचलन सुरु भएको थियो । राधाकृष्णको मूर्ति खटमा राखेर नगरपरिक्रमा गराउने प्रचलन बिक्रम सम्बत २०२४ सालमा रथयात्रामा परिणत भएको थियो । त्यसयता निरन्तर रथयात्रा हुँदै आएको थियो । अघिल्लो वर्ष र यसपटक गरी लगातार दुई वर्ष रथयात्राको साटो खटयात्रा गरिएको छ ।
रथयात्रा आयोजक समितिले यो वर्ष रथ परिक्रमा गर्ने रुट बिस्तार गरेको छ । पहिले मन्दिरबाट निस्किएको रथ स्थानीय ट्राफिक चोक, महेन्द्रचोक, बरगाछी हुँदै ८ किलोमिटर यात्रा गरी पुनः मन्दिरमा पु¥याइने गरेको थियो । यसपटक भने ट्राफिकचोकदेखि रोडशेषचोकसम्म र रोडशेषचोकदेखि राजवंशी चोक, पुष्पलालचो हुँदै राधाकृष्ण मन्दिरसम्मको झण्डै १६ किलोमिटर दुरीमा खटयात्रा गरिएको छ । आगामी वर्षदेखि यसै रुटमा रथयात्रा सञ्चालन गर्ने तयारी छ ।
विराटनगरको रथयात्रालाई प्रदेश नम्बर १ को विषेश धार्मिक कार्यक्रमको रुपमा स्वीकार गर्दै प्रदेश सरकारले रथयात्राका दिन प्रदेश १ का झापा, मोरङ र सुनसरीका तीन जिल्लामा सार्वजनिक बिदा दिने गरेको छ ।