विराटनगरका किराना पसलमा भारतबाट तस्करी गरेर ल्याएको खाद्यवस्तु विक्री

विराटनगरका किराना पसलमा भारतबाट तस्करी गरेर ल्याएको खाद्यवस्तु विक्री

विराटनगर । प्रदेश १ को राजधानी विराटनगर सहरमा रहेका खुद्रा किराना पसलहरूमा भारतदेखि अवैध रुपमा तस्करी भएर आएको खाद्यवस्तुहरू बिक्री वितरण गर्ने गरेको पाइएको छ ।

सीमावर्ती बजार जोगवनीदेखि अवैध रुपमा भन्सार छली गरेर ल्याएको खाद्यवस्तुहरू विराटनगरका खुद्रा पसलहरूमा ल्याएर बिक्री वितरण गर्ने गरेको अनुगमनको क्रममा भेटिएको हो ।

उद्योग, वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा गरेको बजार अनुगमनको क्रममा यहाँका खुद्रा पसलका व्यापारीहरूले क्यारिङ्ग मार्फत भन्सार छली गरेर ल्याएको खाद्यबस्तुहरू लिने गरेको फेला परेको हो । उनीहरूले ल्याएको खाद्यवस्तुको बिल बिजक देखाउन नसक्दा विराटनगरका तीन वटा खुद्रा पसल कारवाहीमा परेको छ ।

यसरी कारवाहीमा पर्नेहरूमा विराटनगर–९ बी प्लटभित्र रहेको मोनिका पूजा एवं किराना पसल, गणेश किराना भण्डार र ओम शान्ति किराना पसल रहेका छन् । उनीहरूको पसलमा रहेको खाद्यवस्तुको बिल बिजक नदेखाएपछि कारवाही गरिएको उद्योग, वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

कारवाहीमा परेका पसलहरूलाई वाणिज्य कार्यालयले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारवाहीको दायरमा ल्याएको उनले बताए । वाणिज्य कार्यालयले मोनिका पूजा एवम् किराना पसललाई २० हजार रुपैयाँ, गणेश किराना भण्डार र ओम शान्ति किराना पसललाई जनही १०÷१० हजार रुपैयाँ जरिवना गराएको हो । खुद्रा पसलहरूमा तस्करी भएर चिनी, दाल, बिस्कुट, पापडलगायतका खाद्यवस्तु आउने गरेको पाइएको छ ।

व्यापारीहरूले जोगवनीमा गएर खाद्यवस्तु खरिद गर्ने र उनीहरूले क्यारिङ गर्नेलाई सामान पसलसम्म ल्याउने जिम्मा दिने गर्दछन् । व्यापारीले पसलसम्म खाद्यवस्तु ल्याउन क्यारिङ गर्नेलाई निश्चित रकम दिने सहमति हुने गर्दछ । सहमति अनुसार क्यारिङ गर्नेले पनि भरिया प्रयोग गरेर गन्तव्यसम्म ल्याउने गर्दछन् । यसरी क्यारिङमार्फत भारतदेखि खाद्यवस्तुको तस्करी गरि बिक्री वितरण सबैभन्दा बढी विराटनगरको पुरानो गुद्री र नयाँ गुद्रीका होलसेल र खुद्रा पसलका व्यापारीहरूले गर्ने गरेको स्रोतले जानकारी दिएको छ । दैनिक यहाँका पसलहरूमा तस्करीको लाखौं मूल्य बराबरको खाद्यवस्तु क्यारिङ गर्नेले लिएर आउने गरेको छ । क्यारिङ गर्नेलाई व्यापारीले पिस हिसाले भुक्तानी दिने गर्दछन् ।

यस्तै अनुगमनको क्रममा विराटनगर–९ मा रहेको टाटा किराना पसलमा खाद्यवस्तु म्याद सकिएको भेटिएको थियो । म्याद सकिएको मसला, पाउडरलगायतका ५ हजार ४ सय मूल्य बराबरको खाद्यवस्तु अनुगमन टोलीले नष्ट गरेको छ । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिको उपस्थित थियो ।

2 प्रतिक्रियाहरू

Jitendra k bothra
आषाढ २०, २०७८

When the action and fine will be done on persons doing TASHKARI AND govt. Officials who are supporting them ….. Why only SHOPS……

Roshan
आषाढ २२, २०७८

Good job 👍

प्रतिक्रिया दिनुहोस्