‘ज्वेलर्स’को आडमा अवैध कारोबार, करोडौं रूपैयाँ जोखिममा

विराटनगर । मोरङ उर्लाबारी नगरपालिका–६ डिबि मार्गमा रहेको गौतम सुनचाँदी पसलका संचालक राजेश भनिने गोपाल गौतमले तीन सय जना बढी सर्वसाधरणले ब्याजमा लगाएको १२ करोड रुपैयाँ भन्दा बढी रकम लिएर फरार छन् ।

उनले सहकारीले जस्तै पासबुक छापेर बैंक र सहकारीको भन्दा आकर्षक ब्याज दिने भन्दै सर्वसाधारणबाट संकलन गरेको रकम लिएर फरार भएका हुन् । यसअघि पनि मोरङको बुढीगंगा गाउँपालिकामा ‘चन्दा ज्वेलर्स’ नामको सुन पसल सञ्चालन गरिरहेका चन्दन स्वर्णकार र उनकी श्रीमती सङ्गीता धितोमा राखिएको सुनचाँदी र बचत गरेको करडौं रुपैयाँ लिएर भागेका थिए ।

पीडितका अनुसार गाउँपालिकाका ३ सयभन्दा बढी ग्राहकले ‘चन्दा ज्वेलर्स’–मा सुनचाँदी धितो राखेर नगद ऋण लिएका थिए । पीडितहरूले जिल्ला प्रहरी कार्यालयमा चन्दन र सङ्गीताका विरूद्धमा किटानी जाहेरी दर्ता गरेका छन् ।

यसअघि पनि विराटनगरबाट पनि यसअघि २ वर्ष पहिले ओमलक्ष्मी ज्वेलर्सका शिशु बेगबानी पसल बन्द गरेर यसैगरी सपरिवार भागेका थिए । प्रहरीले उनको पत्ता हालसम्म लगाएको छैन । शिशु र उनको कम्पनी तथा परिवारमा रहेको सबै घरजग्गा बैंकले लिलाम गरिसकेको छ ।

उल्लेखित प्रतिनिधि मुलक घटनाले सुन व्यवसायीले कानुनविपरीत बैंकिङ कारोबार बचत संकलन तथा ऋण लगानी गर्दै आएको पुष्टि गरेको छ । मोरङ र सुनसरी क्षेत्रमा रहेर सुन–चाँदीलगायतका बहुमूल्य गरगहनाको कारोबार गर्ने अनुमति लिएका सुनचाँदी पसलले ज्वलर्सको आडमा गैरकानुनी रूपमा सर्वसाधारणको बचत उठाएर बैंकिङ कारोबार गर्ने गरेको पुष्टि भएको हो ।

नेपाल राष्ट्र बैंक ऐन–२०५८ ले निक्षेप उठाउने र ऋण लगानीको काम गर्न नेपाल राष्ट्र बैंकबाट स्विकृति लिनुपर्ने व्यवस्था गरेको छ । ऐनको दफा ७६ (उपदफा १) मा ‘कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले कुनै पनि प्रकारको निक्षेप लिन वा कर्जा दिन बैंकबाट तोकिएबमोजिम स्वीकृति लिनुपर्नेछ’ भन्ने उल्लेख छ । तर, ऐन कार्यान्वयनमा राष्ट्र बैंक र प्रहरी प्रशासनले सक्रियता नदिँदा सुनचाँदी व्यवसायीले गैरकानुनी रूपमा निक्षेप संकलन गर्ने तथा सुन धितो राखेर सर्वसाधारणलाई ऋण दिने काम निर्वाध रूपमा गर्दै आएका छन् । सुन पसलबाट कारोबार गरेका सर्वसाधारणहरूको लगानी नै जोखिममा पर्न थालेको छ ।

उर्लाबारीका गौतम सुनचाँदी पसलका संचालक दिपक गौतमले यहाँका तीन सय जना बढीको १२ करोड रुपैयाँ भन्दा बढी रकम लिएर फरार भएपछि सर्वसाधरण बिचल्लीमा परेका छन् । व्यापारी गौतमले सुनचाँदी पसलमा आएका ग्राहकहरूलाई बैंक र सहकारीले दिने भन्दा आकर्षक ब्याज दिने प्रलोभनमा पारी ब्याजमा लगाएको रकम लिएर लामो समयदेखि फरार भएको पीडितहरूले बताएका छन् ।

गौतमको सुनचाँदी पसलमा १ लाखदेखि २० लाख रुपैयाँसम्म ब्याजमा लगाउने सर्वसाधरण रहेको छन् । उनीहरूले गौतमको पसलमा आएर पैसा जम्मा गरेपछि पासबुक दिने गरेका थिए । तीन सयभन्द बढीले ब्याजमा लगाएको रकम लिएर गौतम फरार भएपछि पीडितहरू जम्मा गरेको पैसा फिर्ता गराउन जनप्रतिनिधी देखि स्थानिय प्रशासनसम्म हारगुहार गरेका छन् ।

सुनसरीको इटहरी र मोरङको विराटनगर, उर्लाबारी, पथरीलगायतको क्षेत्रमा अधिकांश सुन पसलले यस्तो गैर कानुनी रुपमा बैकिङ कारोबार गर्दै आएको जानकारहरु बताउँछन् । प्रायः सबै सुन पसलहरूले व्यक्तिगत पासबुक नै छापेर कारोबार गर्दै आएका छन् । एक–दुई सुन पसल छाडेर प्रायः सबैले यस्तो धन्दा चलाउँदै आएको एक सुन पसल सञ्चालकले नाम नबताउने शर्तमा जानकारी दिए । ठूला सुन पसलले करोडौं करोडको कारोबार पासबुक राखेर सञ्चालन गर्ने गरेको उनको भनाइ छ ।

केही समयअघि नेपाल प्रहरीको विशेष अनुसन्धान ब्यूरो सीआइबीले अनुमति नै नलिइ बैंकिङ कारोबार गरेको विभिन्न इन्भेष्टमेन्ट कम्पनी, सुन पसल, फेन्सी पसलमा छापा मारेपछि इटहरीका सुन पसल सञ्चालकहरूको पनि भागाभाग भएको थियो । केही समय कारोबार बन्द गरेपनि अहिले भने पुनः कारोबार सञ्चालन हुन थालेका छन् ।

नेपाल राष्ट्र बैंक विराटनगरका निर्देशक सत्येन्द्र तिम्सिनाले सुनचाँदी व्यापारीले बचत संकलन गर्नु तथा ऋण दिनु गरैकानुनी भएको र यसलाई नियन्त्रण गर्ने जिम्मेवारी प्रशासनको रहेको बताए । ‘राष्ट्रिय बैंकको स्वीकृति नलिकन कसैले पनि बचत संकलन र ऋण दिनु गैरकानुनी कार्य हो,’ उनले भने ।

मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले स्वीकृत नलिकन सुन पसलहरुले बचत कारोबार गर्नु गैरकानुनी भएकोले यस्ता पसल कारवाहीको दायरमा आउने बताए । ‘राष्ट्रिय बैंकबाट सुनचाँदी व्यापारीले बचत संकलन गर्नु तथा ऋण दिनु गरैकानुनी हो,’ उनले भने, ‘यस्तो भेटिए कानुनी दायरमा आउनेछन् ।’ एसपी खड्काले सर्वसाधरणलाई कानुनी मान्यता पाएको बैंक सहकारीहरुबाट मात्र कारोबार गर्न आग्रह गरेका छन् ।

मङ्गलबार, २८ बैशाख, २०७८, साँझको ०५:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page