दमक ।
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक–चिसापानी–रवि कालोपत्र सडकको शिलान्यास गर्नुभएको छ ।
दमकदेखि दक्षिणी इलाम र पाँचथर जोडिएको मार्गमा बन्ने कालोपत्रे सडकको प्रधानमन्त्री ओलीले आइतबार शिलान्यास गर्नुभएको हो ।
२०४७ सालदेखि शुरु भएको ४७ किलोमिटर लामो निर्माणाधीन सो सडकको तीन खण्ड कालोपत्रको काम अघि बढेको छ । सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादवका अनुसार पहिलो चरणमा ६.२९ किमी कालोपत्रे २२ करोड ५९ लाख ६४ हजार ६२७ रुपैयाँ लागतमा बन्नेछ । महालक्ष्मी र किराँतेश्वर जेभीसँग गत २०७५ असार २९ मा सम्झौता भएको सो खण्ड आगामी २०७७ पुस २८ गते पूर्णरुपमा कालोपत्र हुने प्रमुख यादवले बताउनुभयो ।
यस्तै १५.२६ किमी दोस्रो खण्डको ५४ करोड ४४ लाख ८७ हजार ६३९ रुपैयाँ लागतमा लुम्बिनी र गणपति जेभीले तथा ११.३० किमी तेस्रो खण्डको सडकको ५९ करोड १५ लाख ३५ हजार ८३४ लागतमा कालोपत्रे गर्ने ठेक्का लागेको कार्यालयले जनाएको छ ।